काठमाडौं,२१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान आरम्भ भएको छ ।
कांग्रेसको संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्ने प्रयास विफल भएपछि आइतबार साँझ पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले सो पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक प्रणालीबाट निर्वाचित ४९ गरी ६३ जना सांसद सदस्य रहेका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको विधानले बहुमतबाट नेता निर्वाचित हुने व्यवस्था गरेको छ ।
आजको चुनावमा आफूसहित कम्तिमा ३२ मत प्राप्त गर्ने व्यक्ति संसदीय दलको नेतामा निर्वाचित हुनेछ ।
प्रतिनिधि सभाको निर्वाचनमा टिकट वितरण र समानुपातिक सदस्यको चयनमा पार्टी सभापति शेरबहादुर देउवाको निर्णायक भूमिका रहेको हुनाले आफ्नो पक्षमा बहुमत सहजै आउने दावी पार्टी सभापति देउवा निकटका सांसदहरुको रहेको छ ।
निर्वाचनमा अनपेक्षित पराजय व्यहोर्न परेकोले कांग्रेसमा बैकल्पिक नेताको खोजी भएको बताउदै नेता प्रकाशमानका समर्थकहरु निर्वाचनको परिणाम नगनीकन आँकलन गर्न नमिल्ने बताउदैछन् ।
निर्वाचन सकिएको लगत्तै मतगणना आरम्भ हुने निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले बताएका छन् । उनका अनुसार मतगणना सकिए लगत्तै निर्वाचन परिणाम पनि घोषणा गरिनेछ ।