काठमाडौं,२१ फागुन । राष्ट्र्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुरुप संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको पहिलो अधिवेशनको पहिलो आज (सोमबार) अपरान्ह ४ बजे बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा स्थापित संघीय संसद भवनमा बस्दै छ ।
मुलुक संघीय संरचनामा गएपछि आरम्भ भएको संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठक भएकोले यसको ऐतिहासिक महत्व रहने छ ।
आज हुने प्रतिनिधिसभाको बेठकको अध्यक्षता ज्येष्ठ सदस्यका हैसियतले महन्थ ठाकुरले गर्नेछन ।
राष्ट्रिय सभाको बैठकको अध्यक्षता राष्टिय सभाका ज्येष्ठ सदस्य हिरादेवी भट्टबाट हुनेछ ।
राष्ट्रिय गानबाट आरम्भ हुने आजको बैठकमा सबैभन्दा पहिले ज्ञात अज्ञात शहीदहरुप्रति मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिने छ ।
आजको बैठकमा राष्ट्र्पति विद्यादेवी भण्डारीले संसद आह्वानका लागि गर्नुभएको सन्देश पढेर सुनाइने छ ।
त्यसपछि राष्टपति समक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट दिनुभएको राजिनामाका सम्बन्धमा प्राप्त पत्र र नयाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को गठन सम्बन्धि पत्रहरु पढेर सुनाइनेछ ।
संघीय संसदको पहिलो ऐतिहासिक बैठक भएकोले संसदमा उपस्थित दलका नेताहरुले शुभकामना सन्देश दिने संभावना पनि छ । तर यसको निक्र्यौल भैसकेको छैन ।
आजको बैठकमा सदनको बैठक सञ्चालन सम्बन्धि अन्तरिम कार्यविधि प्रस्तुत गरी त्यसलाई पारित गर्ने कार्यक्रम पनि रहेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुखको र राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन मिति घोषणा गर्ने कार्यसूची छ ।
फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ ।
फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भएकोले त्यसको घोषणा पनि आजै हुने संभावना रहेको छ ।
यसका अलवा दुवै सदनले बैठक सञ्चालनको लागि अध्यक्ष मण्डल चयन गर्ने कार्यसूची पनि तय गरिएको छ ।
जेष्ठ सदस्य वा सभामुख वा अध्यक्ष कुनै कारणबस् अनुपस्थित भएमा अध्यक्ष मण्डलका सदस्यबाट बैठक सञ्चालन गरिन्छ ।