हरारे(जिम्बाबे), २० फाल्गुन । बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत जिम्बाबेमा सम्पन्न पहिलो प्रतियोगितामा नेपालले जिम्बाबेसंग ११६ रनको पराजय बेहोरेको छ।
क्विन्स स्पोर्ट्स क्लब बुलावायोको मैदानमा टस जितेर पहिले ब्याटिंग गर्दै जिम्बाबेले पहिलो इनिंगमा ३ सय ८० रन बनाएको थियो जसको जवाफमा ब्याटिंग गरेको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २ सय ६४ रन मात्र बनायो ।
लक्ष्य पछ्याउन ब्याटिंगको सुरुवात गर्न आएका दिलिप नाथ २ रनमै पेभेलियन फर्किएपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए।
आक्रामक इनिंग खेलेका पारस ४० रन बनाएर आउट भएपछि नेपालले निरन्तर अन्तरालमा विकेट गुमाउन थाल्यो। खड्काले ८ चौका प्रहार गर्न ३७ बल खेले र सिकन्दर राजाको बलमा बोल्ड भए।
दिपेन्द्र ऐरीले ज्ञानेन्द्र मल्लसंग ३५ रनको साझेदारी गरे तर २३ रनको स्कोरमा उनिपनि राजाको बलमा क्याच आउट हुन पुग्दा नेपालले तेश्रो विकेट गुमायो।
निकै सुस्त इनिंग निंग खेलेका ओपनर ज्ञानेन्द्र मल्ल पनि जिम्बाबे कप्तान ग्रेम क्रिमरको बलमा क्याच समातिएपछि नेपालले २५ औ ओभरमा ११०र४ विकेट गुमायो। मल्लले ३२ रन बनाउन ५९ बलमा ३ चौका प्रहार गरे।
मल्लको विकेट पछि शरद भेसावकर र आरिफ शेखले पाँचौ विकेटको लागि ७३ रनको साझेदारी गर्दै नेपालको स्कोर २०० नजिक पुर्याए। ५२ रनको स्कोरमा शरदलाई सिकन्दर राजाले आफ्नो तेश्रो शिकार बनाउदा नेपालको स्कोर ३८ औ ओभरमा १८३र५ पुग्यो। शरदले ४८ बलमा १ छक्का र ६ चौका प्रहार गरे।
शरदको विकेट पछि आरिफले रोहित पौडेलसंग छैठौ विकेटको लागि ५९ रनको साझेदारी गर्दै नेपालको स्कोर २५० नजिक पुर्याए। रोहित ३० रन ( ३२ बल, २ चौका ) बनाएर ४७ औ ओभरमा आउट भए।
आरिफ शेखले रास्ट्रिय टिमको लागि पहिलो अर्धशतकीय इनिंग पुरा गरे पनि नेपाल जिम्बाबेको स्कोर भन्दा निकै टाढा थियो। ५९ बलमा ५ चौका प्रहार गरेर आरिफ आउट भए जसपछि नेपालले पुरै ५० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर २ सय ६४ रन मात्रै बनाउन सक्यो र १ सय १६ रनको हार बेहोर्यो।
जिम्बाबे बलर सिकन्दर राजाले सर्वाधिक ३ विकेट तथा ब्रायन भिटोरीले २ विकेट हात पारे।
जिम्बाबेको ब्याटिंग
जिम्बाबेले पहिले ब्याटिंग गर्दै नेपाललाई ३ सय ८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिंग गरेको घरेलु टिमले पुरै ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३८० रनको योगफल तयार गरेको हो।
क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर केफास झुवावो सोलोमोन मिरेले ७ ओभरमै ७७ रनको साझेदारी गरे। सन्दिप लामिछानेले आठौँ ओभरको पहिलो बलमा झुवावोलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। झुवावोले मात्र २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
पहिलो विकेट गुमेपछि सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे जुन बसन्त रेग्मीले तोडे। मासाकाट्जालाई १७ रनको स्कोरमा बसन्त रेग्मीले आफ्नै बलमा आफैले क्याच आउट गरे। मासाकाट्जाको विकेट
लगतै ओपनर मिरेलाई पनि १५ औं ओभरमा बसन्तले विकेट किपर दिलिप नाथबाट स्टम्प आउट गराए। अर्धशतक बनाएका मिरेले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
तेश्रो विकेट गुमेपछि ब्याटिंग गर्न आएका ब्रेण्डन टेलर र क्रेग इर्भिनले चौथो विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० पुर्याए। इर्भिनलाई नेपालको लागि पहिलो खेल खेलीरहेका ललित राजबंशीले विकेट किपर दिलिपको हातबाट क्याच आउट गराउदै रास्ट्रिय टिमको लागि विकेटको खाता खोलेका थिए।
इर्भिनको विकेट पछि टेलर र सिकन्दर राजाले उत्कृस्ट ब्याटिंग गर्दै टिमको स्कोर ३५० पार गराए।
पाँचौ विकेटको लागि राजा र टेलरले १७३ रनको बिशाल साझेदारी गरेपछि ४९ औं ओभरमा सोमपाल कामिले लगातार बलमा राजा र टेलरको विकेट लिएपनि गर्नु विध्वंश दुवै ब्याट्सम्यानले गरिसकेका थिए।
टेलरले १०० रनको इनिंग खेल्ने क्रममा ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने राजाले १२३ रन बनाउन मात्र ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै नेपाली बलरहरुलाई निराश बनाए।
नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २र२ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राजबंशीले पनि १र१ विकेट दिलाए। सोमपालले ८ ओभरमा ८२ रन खर्चिए भने रेग्मीले १० ओभरमा १ मेडन ओभर फाल्दै ६९ रन खर्चिए। सन्दिपले ९ ओभर ६४ रन तथा ललितले १० ओभरमा ६२ रन दिए। महँगो साबित भएका पारस खड्काले ५ ओभरमा ५७ रन खर्चिए।
जिम्बावेको टोली विश्व क्रिकेटमा कमजोर होइन् । उसको घरेलु मैदानमा भएको खेलमा पराजित हुनपरे पनि नेपालले समूह बीका स्कटल्याण्ड,अफगानिस्तान र हंगकंगसंग खेल्न बाँकी छ । यी टीमसंगको खेलमा राम्रो नतिजा निकाल्न सकेमा समूहका उत्कृष्ट ३ मा पर्न सक्छ । अर्थात सुपर सिक्स चरणमा पुग्नको लागि समूह चरणमा दुई देशभन्दा माथि रहन पर्दछ ।
सुपर सिक्समा छनौट भएमा समूह एबाट जितेर आउने देशहरुसंग नेपालले खेल्नेछ । समूह चरण र सुपर सिक्सको अंकको यागफलमा शीर्षस्थान २ मा रहेमा नेपालको विश्वकप सपना साकार हुनेछ ।
नेपालले समूह चरणमा ८ मार्चमा स्कटल्याण्डसंग, १० मार्चमा अफगानिस्तानसंग र १२ मार्चमा हंगकंगसंग खेल्नेछ ।



















