Prakash Adhikari December 3, 2021

बीरेन्द्रनगर(सुर्खेत), १७ मंसिर । नेपाली कांग्रेसको कर्णाली प्रदेशको नेतृत्व लिनका लागि तीन जनाले सभापतिमा मनोनयन पत्र दाखिला गर्नुभएको छ ।

कर्णालीमा वर्तमान सभापति शेरबहादुर देउवा र वर्तमान सस्थापन विरोधी वरिष्ठ नेता रामचन्द्र तथा महामन्त्री कोइराला समूह र वर्तमान उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश सभापतिका लागि उम्मेदवारी परेको हो।

कालीकोटका भूपेन्द्रजंग शाहीले पौडेल कोइराला समूहबाट उम्मेदवारी दिनुभएको छ भने संस्थापन पक्ष देउवा समूहबाट जुम्लाका ललितजंग शाहीले उम्मेद्वारी दिनुभएको छ। निधि समूहबाट कालीकोटका मोतीराज बमले उम्मेदवारी दिनुभएको छ।

तल्लो तहका अधिवेशनमा दुइटा मात्र समूह देखिएको कर्णालीमा प्रदेशको महाधिवेशनमा अर्को समूह पनि थपिएको छ।

निधि समूहबाट उम्मेदवारी दिएका बमको प्यानलमा भूगोलतर्फका सदस्यहरू पनि चुनावमा उत्रिएका छन्।

प्रदेशका १० वटा जिल्लाबाट सदस्यमा उम्मेदवारी परेको हो।

यस्तै, प्रदेश उपसभापतिमा कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीको उम्मेदवारी परेको छ।

महामन्त्रीका लागि निरञ्जन केसी, कृष्णबहादुर रोकाय, कृष्णकुमार बिसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाको उम्मेदवारी परेको छ।

खुलातर्फ सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ भने महिलातर्फको एक जना सहमहामन्त्रीका लागि रामछाया कुमारी शाही र देवीका कुमारी सिंहको उम्मेदवारी परेको छ।

 

Share Now