काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत १६ गतेदेखि भैरहेको प्रदेश अधिवेशनमा आज मतदानको कार्यक्रम रहेको छ । आज ६ प्रदेशमा मतदान भएको छ । प्रदेश २ मा भने निर्वाचन सबै तहको निर्वाचन प्रक्रिया ढिलो सुरु भएकोले आज मतदान हुन सकेन ।
६ प्रदेशमा मतदान बिहान ८ बजेदेखि मतदानसुरु भैसकेको छ । सबै प्रदेशमा कांग्रेसको संस्थापन अर्थात सभापति शेरबहादुर देउवा समूह र इतर समूह अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहको भीडन्त हुने भएको छ । सुदूरपश्चिममा सहमतिको लागि अधिकतम् प्रयास भएको थियो तर त्यो पनि सफल हुन सकेन ।
कोको भिड्दैछन प्रदेश सभापतिमा ?
प्रदेश १ मा संस्थापन पक्षबाट झापा जिल्लाका निवर्तमान जिल्ला सभापति उद्धव थापा र कांग्रेस केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
वाग्मती प्रदेशमा संस्थापन पक्षबाट मकवानपुर जिल्लाका सभापति इन्द्र बानिया, पौडेल कोइराला पक्षबाट नुवाकोट जिल्लाका निवर्तमान सभापति जगदीशनरसिंह के.सी र तेस्रो धारको रुपमा कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
गण्डकी प्रदेशमा संस्थापन पक्षबाट पर्वत जिल्लाका पूर्वसभापति अर्जुन जोशी उठनुभएको छ भने पौडेल कोइराला समूहबाट शुक्रराज शर्मा ।
लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह उठनुभएको छ भने इतरपक्षबाट अमरसिंह पुन उठनुभएको छ ।
कर्णालीमा संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाहीले उम्मेद्वारी दिनुभएको छ भन कालीकोटका भूपेन्द्रजंग शाहीले पौडेल कोइराला समूहबाट उम्मेदवारी दिनुभएको छ । सो प्रदेशमा कांग्रेस उपसभापति विमलेन्द्र निधि समूहबाट कालीकोटका मोतीराज बमले उम्मेदवारी दिनुभएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षबाट बीरबहादुर बलायरले प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएको छ भने पौडेल कोइराला समूहबाट कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्र उम्मेदवार बन्नुभएको छ ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत प्रदेश स्तरमा नेतृत्व चयन गर्न लागेको हो ।
कांग्रेसको महाधिवेशन भने काठमाडौंमा यही मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।


















