Prakash Adhikari December 14, 2021

काठमाडौं, २८ मंसिर । शेयर बजारमा तिब्र गिरावट देखिएको भोलिपल्ट मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सुदृढीकरण कार्यदललाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गर्ने सूचनासगै बजारमा तेजी आएको छ।

छलफलमा अर्थमन्त्री शर्माले कार्यदलले बुझाएका सबै बुँदाहरु कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले अर्थमन्त्री सकारात्मक देखिएको प्रतिक्रिया दिनुभएको थियो । अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ पनि छिट्टै नियुक्ति गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।

लगानीकर्ताहरुले ५८ बुँदे प्रतिवेदनमा रहेका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने तथा ब्रोकरमार्फत मार्जिन कारोबार तत्काल सुरु गर्न माग गर्दै आएका छन्।

लगानीकर्ताहरुले ब्रोकरमार्फत मार्जिन कारोबार सुरु हुन नसकेको अवस्थामा केन्द्रीय बैंकले शेयर धितो कर्जामा ४ (१२ करोडको सिमा राख्न नहुने माग समेत अघि सारेका छन्।

बजारमा १ सय ३७ अंकको बढोत्तरी

केही दिनयता उच्चदरले घटेको नेप्से सूचकमा मंगलबार एकैदिन १३७ अंकले बढेर बन्द भएको छ।

 

मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से सूचक लगातार बढ्दा ६ प्रतिशतको सर्किट लागेर बन्द भएको हो।

मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। सो पश्चात पनि नेप्से सूचक लगातार बढेर ६ प्रतिशतले बढेको हो।

यस दिन नेप्से सूचक १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २२.७२ अंक बढेर ४६०.३० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भने न्युन छ। समयभन्दा अगाडि नै नेप्से सूचक बन्द भएपछि कारोबार रकम न्यून भएको हो। यस दिन २ सय २० वटा कम्पनीको ४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर १ अर्ब ८४ लाख २६ करोड ४७ हजार १ सय ४४ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन विकास बैंक, फाइनान्स, व्यापार, उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक हुँदा यी ३ उपसमूहको सूचक ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ। जसमा ४३ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। भने अरू २७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार नबिल बैंकको सबैभन्दा धेरै ९ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको ७ करोड ९ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ६ लाख, अपि पावरको ४ करोड ६० लाख रुपैयाँ र अरुण कावेली पावरको ४ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक ५.०१ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो। सो पश्चात १ः१८ मा पुनः कारोबार सूचारु भएको हो।

त्यसपछि नेप्से परिसूचक ६ प्रतिशत बढेयो र मंगलबार पुरै दिनको लागि शेयर कारोबार बन्द भयो।

 

Share Now

Leave a comment.