Prakash Adhikari December 14, 2021

 

काठमाडौं, २८ मंसिर । गत नोभेम्बरमा काठमाडौंकी नीमा शेर्पाको अस्ट्रेलियाको भिसा अवधि सकियो।

उहाँ नेपालमा हुनुहुन्छ । उहाँलाई फेरि अस्ट्रेलिया जान पाउने हो या होइन भन्ने पीरले असाध्यै सताएको छ। न उहाँको मेलबर्नस्थित कलेजमा सुरु भएको पढाइ सक्किएको छ न त उहाँले त्यहाँ जानका लिएको ऋण नै तिरिसक्नुभएको छ।

“पढाइ सकेर काम गर्छु, पैसा कमाउँछु र ऋण तिर्छु भन्ने योजना थियो। तर सीमा बन्द भएकाले सबै योजना प्रभावित भयो। अब फेरि भिसा पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले निन्द्रै बिथोलिसक्यो”, शेर्पाले बीबीसीसँग भन्नुभयो ।

सन् २०२० को मार्चमा हजुरबुवाको निधन भएपछि आपत्कालीन बिदा लिएर उहाँ नेपाल आउनुभएको थियो।

नेपाल आएको एक महिना नबित्दै कोरोनाभाइरसको सङ्क्रमण फैलियो। अस्ट्रेलियाले सङ्क्रमण नियन्त्रणका लागि सीमा ठप्प पार्‍यो। शेर्पा नेपालमै रहनुभयो।

“हरेक दिन समाचार हेर्थेँ। अस्ट्रेलियामा भएका साथीहरू र कन्सल्टेन्सी सञ्चालकहरूलाई सोध्थेँ- सीमा कहिले खुल्छ”, नीमाले भन्नुभयो, “सीमा खुल्नुअघि मेरो भिसा सकियो।”

उच्च शिक्षाः अर्बौँ रुपैयाँ नेपाल बाहिर

झन्डै दुई वर्षदेखि ठप्प अस्ट्रेलियाको सीमा डिसेम्बर १ तारिखदेखि खुला गरिने बताइएको थियो।

तर विश्वका विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रन पुष्टि भयो। नयाँ भेरिअन्ट फैलने जोखिम न्यून गर्न त्यहाँको सरकारले सीमा खोल्ने निर्णय पुनः स्थगन गर्‍यो।

जसका कारण हतारहतार हवाई यात्राका लागि टिकट खरिद गरेका विद्यार्थीहरू फेरि अन्योलमा परे। विद्यार्थीसँगै कन्सल्टेन्सी र ट्राभल कम्पनी सञ्चालकहरू पनि मारमा परे।

उक्त अन्यौलता चिर्दै डिसेम्बर १३ बुधवार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले फेसबुक स्ट्याटस लेख्नुभयो। जसमा डिसेम्बर १५ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थी, जनशक्ति लगायतका लागि सीमा खुला गर्ने जनाइएको छ। प्रमुख स्वास्थ्यकर्मीहरूसँगको सल्लाहमा दुवै मात्रा खोप लगाएकाहरूले प्रवेश गर्न दिइने उल्लेख गरिएको छ।

“प्रधानमन्त्रीले नै पुष्टि गरे पनि म ढुक्क हुन सक्दिनँ। त्यसैले हतारहतार टिकट काट्ने भूल गर्दिनँ। भोलि कुनै ठाउँमा सङ्क्रमण दर बढ्यो भने तत्काल सीमा बन्द भएको खबर आउनसक्छ”, २० वर्षीय राजेश चौलागाईँ भन्नुहुन्छ।

चौलागाईले डिसेम्बर १ मा टिकट काटेकाहरूले यात्रा रोकिएपछि पैसा फिर्ता लिन भोगेको झमेला नजिकबाट देख्नुभएको छ। त्यसैले उहाँले केही समय उत्साहित नभई अवस्था अवलोकन गर्ने योजना रहेको सुनाउनुभयो।

अस्ट्रेलिया प्रवेश गरिरहेका मानिस।
चौलागाईँ अध्ययनका लागि सिड्नी जाने तयारीमा हुनुहुन्थ्यो। सन् २०२० को मार्चमा भिसा लाग्यो र केही दिनमै हवाई टिकटसमेत खरिद गर्नुभयो। जानुअघि कोभिड १९ को सङ्क्रमण फैलियो र टिकट रद्द गर्न बाध्य हुनुभयो।

“त्यस वर्ष जुलाईमै जान पाउँछु भन्ने थियो। तर डेल्टा भेरिअन्ट देखियो। र यस वर्षको ज्यानुअरीसम्म कुनै सम्भावना देखिएन, त्यसैले यतै काम गर्न थालेँ”, उहाँले भन्नुभयो।

कलेजले अनलाइनमार्फत कक्षामा सहभागी हुन भनेको थियो। तर उहाँले आफ्नो पढाइ सन् २०२२ को शैक्षिक सत्रमा सार्न आग्रह गर्नुभयो। कलेजले उहाँको आग्रह स्वीकार गर्‍यो जसका कारण तिरिसकेको अध्ययन शुल्क खेर गएन।

“तर समय खेर गयो। रकम रोक्का भयो, जुन अरू काम गर्न वा यतै पढ्नका लागि खर्च गर्न सकिन्थ्यो।”

काठमाडौकी २० वर्षीय आरिया श्रेष्ठ डिसेम्बर ८ मा सिड्नी जाने तयारीमा हुनुहुन्थ्यो।

सीमा बन्द भएपछि टिकट शुल्क फिर्ता लिने तयारीमा हुनुहुन्थ्यो तर पुनः सीमा खुलेको खबर आयो।

अब उहाँ आउँदो २८ तारिख नेपालबाट उड्ने योजना बनाइरहनुभएको छ।

भिसा लागेका विद्यार्थीहरू छिट्टै जानु उचित

शैक्षिक परामर्श केन्द्रहरूको सङ्गठन एजुकेसनल कन्सल्टेन्सी एसोसियसन नेपालका अध्यक्ष प्रकाश पाण्डे भिसा लागेका विद्यार्थीहरूले यात्रा तय गर्नु उचित देख्नुहुन्छ।

पाण्डे भन्नुहुन्छ,”अब पर्खनुभन्दा उचित कोभिड१९ बाट जोगिएर र यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्छ। यसबाट भागेर हुँदैन।”

उहाँका अनुसार सन् २०२० को मार्च महिनादेखि हालसम्म करिब ४,००० नेपाली विद्यार्थी भिसा पाएर पनि नेपालमै छन्। ती विद्यार्थीसँगै अभिभावकसमेत आर्थिक एवम् मानसिक दबावमा परेको उहाँ बताउँनुहुन्छ।

“लामो समय सीमा बन्द हुनुले आर्थिक क्षति त पुर्‍यायो नै, मानसिक तनाव पनि निम्तियो। अब चाहिँ हातमा भिसा बोकेका ती विद्यार्थी १५ देखि २० दिनसम्ममा अस्ट्रेलिया पुग्ने निश्चित छ”, उहाँले भन्नुभयो।

सन् २०१८ र २०१९ मा प्रत्येक वर्ष करिब १५ हजार ५ सय नेपाली विद्यार्थी अस्ट्रेलिया गएको उहाँको दाबी छ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डे।

“नेपालमा करिब ४ हजार शैक्षिक परामर्श केन्द्र छन्। तीमध्ये ७ सय देखि ८ सयले विद्यार्थीलाई अस्ट्रेलिया पठाउँछन्। उनीहरू जान नपाउँदा सेवा शुल्कबाट सञ्चालित परामर्श केन्द्रहरू पनि मारमा पर्नु स्वाभाविक हो”, पाण्डेले भन्नुभयो।

“अब चाहिँ बिस्तारै लयमा फर्कन्छौँ भन्ने आशा जागेको छ।”

महामारीपछि टिकट फिर्ता गर्नेको लर्को

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको फेसबुक स्ट्याटस सार्वजनिक भएपछि पुतलीसडकस्थित रोयल ट्राभल्सका कर्मचारीले फुर्सद नपाएको सञ्चालक प्रकाश पाण्डेले सुनाउनुभयो।

“हिजोसम्म टिकटको पैसा फिर्ता लिने वा यात्रा पुनस् निर्धारण गर्नेहरूको लर्को थियो। आज सिट खोज्दै सम्पर्क गर्नेहरू बढेका छन् “, पाण्डले बताउनुभयो।

उहाँको कार्यालयबाट मात्रै एक सातामा करिब १ सय ५० जनाले टिकटको पैसा फिर्ता लिने वा नयाँ समयका लागि उडान तय गरेका छन्।

त्यस्तै महामारीयता उक्त सङ्ख्या १ हजारसम्म भएको सुनाउँछन्।

पाण्डे भन्नुहुन्छ,  “हामीले पनि सिट बुकिङका लागि रातभर जागै बसेर काम गरेका थियौँ। पटकपटक ‘सीमा बन्द’ भन्ने खबर थला परेको व्यवसाय नउठ्ने सङ्केत थियो। अब यो पटक त्यस्तो नहोस् भन्ने कामना गरिरहेको छु” ।

अब टिकटको पैसा फिर्ता लिएकाहरूले नयाँ टिकट काट्नु पर्नेछ भने फिर्ता नलिएकाहरूले यात्राका लागि नयाँ मिति र समय तय गर्नुपर्नेछ।

अस्ट्रेलिया जानका निम्ती भाषा कक्षामा सहभागी विद्यार्थीहरू।

चिन्तामुक्त परामर्शदाता
अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीका निर्देशक असीम मैनाली भिसा लागेर पनि अस्ट्रेलिया जान नपाएका विद्यार्थी सरह आफूहरू पनि चिन्तामा रहेको सुनाउँछन्।

आर्थिक लगानी गरेका अभिभावक र पढाइ प्रभावित विद्यार्थीहरूले प्रत्यक्ष प्रश्न परामर्शदातालाई नै गर्ने भएकाले अस्ट्रेलियाको सीमा खुल्नु आफ्नो चासोको विषय भएको उहाँ बताउँनुहुन्छ।

मैनाली भन्नुहुन्छ, “अभिभावकहरू पैसा फिर्ता मगाइदिन दबाव दिनुहुन्थ्यो जुन धेरैको हकमा सम्भव थिएन।’

“सम्भव भएकाहरूको शैक्षिक सत्र नै सार्न सहयोग गर्‍यौँ। नभएकाहरू निश्चित पाठ्यक्रमको रकम तिरेर यतैबाट पढ्नु भयो। तर अब त्यो अवस्था बाँकी रहेन। उहाँहरू जान पाउनुहुन्छ।”

घुमफिरलगायत अन्य प्रयोजनका अस्ट्रेलिया जानेहरूभन्दा उच्च शिक्षा आर्जनका लागि जाने विद्यार्थीहरूको सङ्ख्या निकै बढी छ।

त्यसैले अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइले नेपालमै रोकिएका विद्यार्थीहरू निकै खुशी देखिएका छन्।

“अस्ट्रेलियाका प्रधानमन्त्रीले फेसबुकमा स्ट्याटस राख्दा हामी दङ्ग पर्नु पर्ने दिन आयो”, दुई सातापछि सिड्नी जाने तयारी गरेकी रोशनी सुनुवारले भन्नुभयो।

 

Share Now

Leave a comment.