Prakash Adhikari December 15, 2021

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनले पार्टी सभापतिमा शेरबहादुर देउवालाई पुन निर्वाचित गरेको छ । मंगलबार भएको दोस्रो चरणका मतदानमा २ हजार ७ सय ३३ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित सभापति देउवाले २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि आफ्ना प्रतिद्धन्द्धी रामचन्द्र पौडेललाई पराजित गर्नुभएको थियो । यसपटक आफ्नो समूहबाट सर्वसम्मत् उम्मेद्वार बन्न नसकेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेद्वार पनि बन्नुभएन र मतदानमा सरिक पनि हुनुभएन ।

सोमबार भएको मतदानमा सभापतिका प्रत्यासी कसैको पनि बहुमत नआएपछि शीर्ष स्थानमा रहेका उम्मेद्वार द्धय देउवा र डा. कोइरालाको बीचमा मंगलबार पुन मतदान गरिएको थियो ।

पहिलो चरणमा सभापति पदमा उम्मेद्वारी दिनुभएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुड.ले शीर्ष स्थानमा रहनुभएका देउवालाई समर्थन गर्नुभएको थियो ।

पहिलो चरणको निर्वाचानमा देउवाले २ हजार २ सय ५८ र कोइरालाले १ हजार ७ सय २, सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।

मंगलबार दिउँसो ३ः३० देखि सुरु भएको दोस्रो चरणमो मतदान राती ९ बजे सम्पन्न भएको थियो । सभापतिको मतगणना राति सवा ११ बजेदेखि थालिएको थियो ।

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५ सय ७४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिनुभएको छ । महाधिवेशनमा आएका प्रतिनिधिहरु मध्ये कतिपय मतदान पछि घर फर्केकोले मतदाताको संख्या घट्न गएको हो ।

काँग्रेसमा कुल मतदाता ४ हजार ७ सय ४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणाम अनुसार देउवाले २ हजार ७ सय ३३ मत पाउँदा कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गर्नुभयो र ३५ मत बदर भयो ।

दोस्रो चरणमा डा. कोइरालाको पनि मत बढेकोेले उहाँको टिम कमजोर नभएको सन्देश दिएको छ ।

 

Share Now

Leave a comment.