Prakash Adhikari December 15, 2021

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तरगत भएको निर्वाचनमा सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबार अपरान्हबाट शुरु हुने भएको छ ।

सभापति बाहेका पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत गणना पार्टी कार्यालय सानेपामा हुने भएको छ । मतदान सम्पन्न भएपछि सोमबार बेलुकै सबै मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सुरक्षित रुपमा राखिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मतगणना बुधबार अपरान्हदेखि शुरू हुने जानकारी दिनुभएको छ ।
शुरूमा पदाधिकारीको मतगणना थाल्ने तयारी छ । पहिले उपसभापति, त्यसपछि महामन्त्री, त्यसपछि सहमहामन्त्रीको मतगणना हुने छ ।

केन्द्रीय सदस्यहरु सबैको मतगणनाको परिणाम पुस ५ गते भित्र सार्वजनिक भइसक्ने घिमिरेले बताउनुभएको छ ।

नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ ।

गत २४ गतेबाट शुरु भएको कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ८ सय ७८ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनुभएको छ ।

दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खस्दा देउवाले २ हजार ७ सय ३३ मत पाउनुभयो भने कोइरालाले १ हजार ८ सय ५५ मत । ३५ मत भने बदर भएको थियो ।

Share Now

Leave a comment.