सानेपा(ललितपुर), १ पौष । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित हुनुभएको छ।
बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७ सय ९८ मतले पराजित गर्दै आङदम्बे निर्वाचित हुनुभएको हो।
कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदम्बेले २७११ मत पाउनुभएको छ भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत ।
महिलामा डिना उपाध्याय
नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी (डिना) उपाध्याय निर्वाचित हुुनुभएको छ ।
बिहीबार सम्पन्न मतगणनामा कमला पन्तलाई ४२८ मतले पराजित गर्दै डिना सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाउनुभयो भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाउनुभयो ।
दलिततर्फ जीवन परियार निर्वाचित
नेपाली कांग्रेसको दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित हुनुभएको छ ।
बिहीबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै शेखर प्यानलका जीवन परियार निर्वाचित हुनुभएको हो ।
जीवनले २२१५ मत पाउनुभएको छ भने मानबहादुरले २१७५ मत र गंगा सुनारको मत २२९ छ ।


















