काठमाडौँ, ५ पौष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संझौताप्रति केही उदार हुनुभएको संकेत मिलेको छ ।
उहाँको पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सोमबार
बोल्दै अध्यक्ष नेपालले एमसीसीको बारेमा सत्ता साझेदार ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकालिने बताउनुभयो ।
अध्यक्ष नेपालले सो सझौता सैन्य गठबन्धन वा नेपालको सार्वभौम सत्तासँग जोडिनु नहुने बताउदै छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको अन्तर्वस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो ।
“एमसीसीबारे हामी छलफल गरिरहेका छौं । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौं ।”, अध्यक्ष नेपालले भन्नुभयो,” नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौं । अहिले एमसीसीसँग जोडिएकाहरुले यो गठबन्धनको अंग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौं ।,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, “यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुराहरुसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरुमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । ५ दलको बीचमा छलफल गरेर साझा निस्कर्ष निकालेर देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौं ।’
नबुझिकन विरोध भयो : उपाध्यक्ष पाण्डे
यसैबीच नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी अनुदान दिने एमसीसी संझौताको नबुझिकन विरोध भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डे जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताउनुभयो ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनासर्त आउँदैन ।”
अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उहाँको भनाइ छ ।
पूर्वअर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिनासर्त आउँछ भन्ने भान परेको बताए ।
एमसीसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताउनुभयो । एमसीसीको विषयमा टिप्पणी गर्दै उनले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताउनुभयो ।
अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उहाँको चिन्ता छ ।
एमाले उपाध्यक्ष पाण्डेले यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको आरोप लगाउदै अहिले देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको बताउनुभयो ।उपाध्यक्ष पाण्डेले सबै समस्याको समाधान निर्वाचन नै भएको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा पाण्डेले नेकपा ९एमाले० भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।


















