काठमाडौं, १८ पौष । नेपाली कांग्रेसका नेता तारिणीप्रसाद कोइरालाका छोरा ज्योति कोइरालाको निधन भएको छ।
क्यान्सरबाट पीडित ज्योतिको ७४ वर्षको उमेरमा बौद्धस्थित निवासमा शनिबार राति निधन भएको हो।
कोइरालाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. शेखर कोइराला लगायतका केन्द्रीय नेताहरु आर्यघाट पुग्नुभएको थियो ।
२०४८ सालको आम निर्वाचनपछि गठित सरकारमा गिरिजाप्रसादका निकट रहनुभएका ज्योति संविधानसभाको पहिलो निर्वाचन अघि तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभएको थियो। तर, केही समयपछि नै पुनः कांग्रेसमा फर्किनु भयो।
ज्योतिका पिता तारिणीप्रसाद कोइराला प्रजातान्त्रिक रेडियो नेपालका संस्थापक हुनुहुन्छ। पञ्चायत कालमा उहाँ सञ्चारकर्मी र प्रेस व्यवसायीको रुपमा कार्यरत रहनुभएको थियो ।
ज्योतिकी आमा रोशा पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले पार्टी प्रतिबन्धित रहेको बेलामा प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका कांग्रेसका नेताहरुलाई गरेको सहयोग अतुलनीय रहेको बीपीको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ मा उल्लेख छ।


















