Prakash Adhikari January 2, 2022

नयाँदिल्ली(भारत), १८ पौष । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजू देउवाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसंग भेटवार्ता गर्नुभएको छ ।

आफ्ना भाइ भूषण राणाको उपचारको लागि दिल्ली पुग्नुभएकी डा. देउवाको यो भेटघाट अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एक साता पूर्व भएको यो भेटघाटलाई उच्चस्तरीय राजनीतिक भ्रमण सफल बनाउने तयारीको रुपमा हेरिएको छ ।

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले आइतवार ट्वीट गर्दै डा.आरजूसँग भेटेको तस्वीर सार्वजनिक गर्नुभएको छ।

ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डा. आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो’।

प्रधानमन्त्री देउवा यही पौष २५ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम बनेको छ।

ओमिक्रोनको संक्रमण बढे भ्रमणबारे पुर्नविचार हुनसक्ने परराष्ट्र अधिकारीले बताए पनि भ्रमणको गृहकार्य भने तीव्र रुपमा भइरहेको छ।
गुजरात राज्य सरकारले आयोजना गरिरहेको उक्त ग्लोबल समिट भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको छ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ।

समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १सय ३५ देशका ४० हजार पाहुना सहभागी हुने बताइएको छ ।

पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवाले गर्न लाग्नुभएको यो भारत भ्रमण पहिलो हो । उहाँले पहिलो विदेश भ्रमण राष्ट्र संघीय जलवायु सम्मेलनमा सहभागी बनेर सम्बोधन गर्नुभएको बेलायतको स्कटल्याण्ड थियो।

स्कटल्याण्ड भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइनमा भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको बताइएको थियो।

Share Now

Leave a comment.