काठमाडौं, १९ पौष । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बन्नुभएको छ ।
यसमध्ये नेपाली कांग्रेसको मुख्य सचिव पनि रहनुभएका कृष्णप्रसाद पौडेल र प्रदेश १ का उम्मेद्वार गोपाल बस्नेत २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचन समाप्त भएर राष्ट्रिय सभाको पनि निर्वाचन भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले राष्ट्रपतिबाट मनोनित हुने तीन सदस्यको सिफारीसमा पर्नुभएको थियो ।
त्यतिबेला सिफारिस हुनुभएकी चाँदनी जोशी युनिफेमकी पूर्व क्षेत्रीय निर्देशक हुनुहुन्थ्यो । पार्टीसंग आबद्ध नभएकोले यसपटक उहाँ छुट्न पुग्नुभयो ।राष्ट्रपतिबाट मनोनित गर्ने एक सीटमा उहाँ अटाउने संभावना भने अझै बाँकी छ ।
सोमबार बिहान सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार यही फागुनमा खाली हुने २० सिट मध्ये १ सीट राष्ट्रपतिबाट मनोनित हुने छ भने बाकी १९ सिटमा सत्तारुढ गठबन्धनको भागवण्डा गर्दा कांग्रेसको भागमा ६ सिट परेको थियो । माओवादी र समाजवादीको भागमा ५।५ तथा जनता समाजवादी पार्टीको भागमा २ र राष्ट्रिय जनमोर्चाको भागमा १ सिट परेकोछ ।
बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।


















