काठमाडौं, २० पौष । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका कप्तान र उपकप्तानसहित चार खेलाडीमाथि गरेको अनुशासनको कारवाही फिर्ता टी २० विश्व कप क्वालिफायरको बन्द प्रशिक्षणमा छनोटमा परेका सबै खेलाडी सहभागी हुने भएका छन् ।
कारबाहीमा परेका साविक राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित क्यान अध्यक्ष चतुरबहादुर चन्द, प्रशिक्षक पुबुदु दासानायेकेबीच भएको वार्तापछि दुवै पक्षले लचकता अपनाएका थिए।
सहमति पछि मल्ल लगायत खेलाडीहरु बन्दप्रशिक्षणमा सहभागी हुन राजी भए र सोमबार साँझ बन्द प्रशिक्षणको अवधिमा आबासको लागि चयन गरिएको होटलमा पुगेका हुन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबार सुरु भएको हो । तर खेलाडी र संघबीचको विवाद नमिलेकोले सोमबारको प्रशिक्षणमा प्रशिक्षक पुबुदु दासानायेकेले पहिलो दिन उपस्थित १४ जना खेलाडीहरुलाई मात्र फिटनेस अभ्यास गराए। संघले टी २० विश्वकप क्वालिफायर खेलको लागि ३० जनालाई बन्द प्रशिक्षणका लागि छनोट गरेको थियो । सोमबारको प्रशिक्षणमा देब्रे हाते स्पिनर सागर ढकाल बिरामी भएका कारण अभ्यासमा पुग्न सकेनन् भने नवनियुक्त कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा बिगब्यास लिगमा खेलिरहेको हुनाले उपस्थित हुन सकेनन् । आजदेखि अन्य अभ्यास सुरु हुने बनाइएको छ।
क्रिकेट संघले गरेको खेलाडी वर्गीकरण र सेन्ट्रल कन्ट्रयाक्टमा असन्तुष्टि जनाउदै त्यसमा पुनर्विचार गर्न खेलाडीहरुले गरेको अनुरोधलाई लामोसमय वेवास्ता गरिएपछि खेलाडीहरुले सञ्चारमाध्यममार्फत आफ्नो असन्तुष्टि जनाएका थिए ।
संघले त्यसले खेलाडीको अनुशासन उल्लंघन गरेको रुपमा लिएर छानबिन समिति गठन गर्यो । सो समितिले अनुशासन उल्लंघन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेपछि गत मङ्सिर २९ गते संघले तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरी मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । संघले नेपाली राष्ट्रिय टोलीको कप्तानको रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।
आफ्ना कमी कमजोरी सच्याउदै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टो कारबाहीको डण्डा चलाएर खेलाडीमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्दै खेलाडीहरुलाई हतोत्साही गराएको भन्दै क्रिकेट संघका सदस्यहरुले समेत कारबाही फिर्ता लिन दबाब दिएका थिए ।
विश्वकपको क्वालिफायरको लागि हुने खेलको बन्द प्रशिक्षण आधा खेलाडीले बहिष्कार गर्ने अवस्था आएपछि संघको नेतृत्व लचिलो भएर खेलाडीहरुसंग वार्ता गरेको थियो । संघले खेलाडीमाथि गरेको कारबाही फिर्ता लिएको छ । तर कप्तान र उपकप्तानको जिम्मेवारी पूर्ववत दिनुपर्ने माग भने मानेको छैन् ।
नवनियुक्त कप्तान सन्दी लामिछानेको नेतृत्वमा छानिएको ३० सदस्यीय प्रशिक्षण टिममा पूर्वकप्तान, ज्ञानेन्द्र मल्ल, पूर्वउपकप्तानदिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहित पौडेल, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह छन् ।
टी २० विश्वकप २०२२
अष्ट्रेलियामा हुने टी २० विश्वकप २०२२ मा कुल १६ टोली सहभागी हुँदैछन् जसको लागि सुपर १२ टोली को टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलियासहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश सुप १२ चरणको लागि स्वतः छनोट भैसकेका छन् । समूह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्।
त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालिफायर आयोजना गर्दैछ।
ग्लोबल क्वालिफायरमा कुल १६ टोली सहभागी हुँदैछन्। १६ टोलीलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिदैछ।
ग्लोबल क्वालिफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालिफायर ‘बी’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालिफायरमा उत्कृष्ट हुने दुईदुई टिम २०२२ टी २० विश्वकपमा छनोट हुनेछन्।
टी ट्वान्टी विश्वकप ग्लोबल छनोट (ए) मा नेपालसहित आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएई सहभागी हुँदैछन्।
यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालिफायर ‘बी’ मा आयोजक जिम्बाब्वेसहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एकरएक खेल खेलेपछि समुहको उत्कृष्ट दुई विश्व कपका लागि योग्य हुनेछन्।
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी २० विश्वकप खेलेपछि नेपाल टी २० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टी २० विश्वकप क्वालिफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टी २० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो।
यस पटक भने नेपाल टी २० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।
प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा खेल्नेछ।


















