धरान(सुनसरी), २० पौष । धरानमा फोहोरमैलाबाट ग्यास र मलसमेत उत्पादन गर्न थालिएको छ ।
धरानको पानबारीमा निर्माण गरिएको फोहोरमैला प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ।
गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो। सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत व्यक्तिहरुको सहभागिता रहेको थियो।
भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो। धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिनुभयो।
२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिक टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ। यसमा उपमहानगरको कुनै पनि लगानी छैन।
प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन्। प्लान्टमा जम्मा १५ वटा चेम्बर छन्।
प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ। प्रशोधन केन्द्रको क्षमता दैनिक २ हजार केजी ग्यास उत्पादन गर्ने रहेको छ। यसले दैनिक ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्छ।
कम्पनीले पानवारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो। सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ। यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिनुभयो। रासस


















