काठमाडौं, ३० पौष । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर संझौता भएको भोलिपल्ट नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ ।
शुक्रबार भएको हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्टसंगको मर्जरलाई अस्वीकृत गरेको हो ।
बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताउनुभयो ।
‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन’ प्रमुख कार्यकारी अधिकृत राणाले भन्नुभयो ।
गत वैशाख ३० गते हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर सहमति भए पनि बैंकका ठूला लगानीकर्ता कर्मचारी सञ्चयकोष र अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ पछिल्लो समय मर्जरको विपक्षमा गएका थिए ।
मर्जर प्रस्तावमा मत विभाजन हुँदा अध्यक्ष श्रेष्ठ मर्जरको विपक्षमा उभिनुभएको थियो ।
मर्जरलाई टुंगोमा पुर्याउन नसक्ने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही स्वरुप नियामकीय सुविधाहरुमा रोक लगाउने, लाभांश वितरणको स्वीकृति नदिने, शाखा खोल्न नदिने लगायतका कारबाही गर्ने गरेको छ।


















