Prakash Adhikari January 14, 2022

 

काठमाडौं, ३० पौष । सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड १९ विरुद्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिएसँगै त्यसबारे धेरैमा चासो र चिन्ता व्यक्त भएको पाइएको छ।

कतिपयले खोप कार्ड हराएको तथा केहीले खोप लगाए पनि कार्ड नपाएको अवस्था रहेकाले उनीहरूमा चिन्ता उत्पन्न भएको विवरणहरू पनि आएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले चाहिँ आफ्नो कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन्।

उनीहरूका भनाइमा खोपको अतिरिक्त मात्रा लिन पनि त्यस्तो कार्डको आवश्यकता पर्नेछ।

के छ सरकारको निर्णयमा ?
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसअनुसार सबैजसो सरकारी निकायहरूले यही माघ पहिलो सातादेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेका छन्।

भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रङ्गशालाजस्ता स्थानमा पनि त्यस्तै व्यवस्था गर्न सम्बन्धित सरकारी निकायहरूले निर्देशन दिइसकेका छन्।

अब सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनेछ।

खोप

खोप

आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि भने माघ ३ गतेदेखि नै खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।

विभिन्न सरकारी निकायले निकालेका सूचनामा खोप कार्ड लागु भएपछि सबैले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ।

तर त्यसका लागि खोप कार्ड नै बोक्नुपर्छ भन्ने चाहिँ छैन। मानिसहरूले प्रमाणित हुने खालको खोप कार्डको तस्बिर मोबाइलमा देखाए पनि हुनेछ।

स्वास्थ्य मन्त्रालयले माघबाटै सुरु गर्न लागेको तेस्रो मात्रा खोप लगाउनका लागि पनि त्यस्तो कार्ड आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ।

अधिकारीहरू के भन्छन् ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका भनाइमा खोप कार्ड अब धेरै कामका लागि आवश्यक पर्छ।

ूखोप कार्ड नहराउनुहोस् किनभने खोप कार्डले भोलि हामीलाई थप खोप लगाउने सन्दर्भमा, विदेश जानुपर्दा चाहिने प्रमाणका सन्दर्भमा, सरकारी निकायमा गएर कुनै काम कारबाही गर्नुपर्ने बेलामा प्रवेश गर्ने कुराहरूमा पनि हामीलाई त्यो अत्यन्त आवश्यक पर्छ।ू सहप्रवक्ता अधिकारीले भन्नुभयो।

“स्वास्थ्य मन्त्रालयको आग्रह सुरक्षित राखिदिनूस्। सुरक्षित राख्नेका अतिरिक्त अनलाइन प्रणालीमा गएर आफैँले इन्ट्री गरिदिनुभयो भने त्यो इन्ट्री गरेको विवरण सधैँका लागि रहन्छ। हरायो भने पनि हामीले प्रणालीबाट निकाल्न सक्छौँ र सजिलै पाइन्छ।”

कोभिड खोप

कोभिड खोप

स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाइसकेका व्यक्तिहरूले  https://vaccine.mohp.gov.np/ मा गएर आफ्नो विवरण भर्न सक्ने र त्यहाँबाट क्यूआर कोडसहितको कार्ड प्राप्त गर्न सक्ने छन्।

त्यस्तो विवरण सधैँका लागि सुरक्षित हुने चाहेको बेलामा सहजै लिन सकिने अधिकारीले बताउनुभयो।

कार्ड हराएका र नपाएका व्यक्तिले के गर्ने ?

हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए।

तर अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन्।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन्।

अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्नुहुन्छ।

“पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो हो। तर अहिले कार्ड नपाउने भन्ने अवस्था छैन”, दाहालले भन्नुभयो,”खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन चाहन्छन् भन्ने खोप लिएकै स्थानमा जाँदा कार्ड बनिहाल्छ। जान चाहिँ त्यही स्थानमा जानुपर्‍यो किनकि विवरण त त्यहीँ छ।”

उहाँले कार्ड हराउने व्यक्तिका हकमा पनि सोही नियम लागु हुने जानकारी दिनुभयो।

कार्ड बनाउनकै लागि जथाभावी खोप नलगाउनुहोस्

खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड बनाउनकै लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भन्ने आशङ्कासहितका विवरण आएका बेला विज्ञहरूले त्यसो नगर्न आग्रह गरेका छन्।

उनीहरूका भनाइमा निश्चित समय पूरा नभई खोप लगाउँदा वा बढी मात्रा खोप लगाउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ।

खोप

खोप

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन भन्नुहुन्छ,, “अब खोप लगाएको लगाएकै गर्दा ठ्याक्कै कस्तो प्रभाव पर्छ भन्ने विवरण त हामीसँग छैन तर पक्कै पनि त्यसो गर्नु राम्रो चाहिँ होइन। खोप यति समयपछि लगाउने भन्ने वैज्ञानिक आधार हुन्छ र त्यसको अन्तर तोकिएको पनि हुन्छ। त्यसका साथै खोप नपाएकाले खोप नै नपाउने र केहीले बढी खोप लगाउने अवस्था पनि निम्त्याउन सक्छ।”

त्यस्तो अवस्था आएमा खोप लगाउनेलाई पनि नकारात्मक असर पर्ने र नपाउनेमा सङ्क्रमण बढी हुने अवस्था आउन सक्ने उहाँको भनाइ छ।

हालसम्म कतिले खोप लगाए ?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म नेपालमा कुल जनसङ्ख्याको करिब ३८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

त्यस्तै करिब साढे ५० प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्।

तर १८ वर्ष माथिका जनसङ्ख्यामध्ये करिब ७७ प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन्।

त्यस्तै उक्त उमेर समूहका करिब ५८ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन्।

नेपालमा अहिलेसम्म दुई करोड ६७ लाख मात्राभन्दा बढी मात्रा खपत भइसकेको मन्त्रालयको विवरणले देखाउँछ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.