‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ बुधबारदेखि साताव्यापी रुपमा १०८औँ अन्तर्राष्ट्रिय नारी दिवस शुरु भएको छ ।
श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा देशभर आयोजना हुने महिला जागृतिका कार्यक्रम नारीलाई आर्थिक अधिकार र स्वामित्व प्रदान गर्न लक्ष्यित हुनेछन् ।
केन्द्रीयस्तरमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यसहित अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बिहीबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना हुनेछ ।
अल्पसंख्यक, सीमान्तकृत वर्गका महिलालाई आर्थिक रुपमा सम्पन्न नबनाएसम्म उनीहरु सधैँ हेपिने हुँदा आयआर्जनका बाटाहरु पहिल्याउँदै नारी अस्मिता सुरक्षामा समाजका सबै वर्गबाट मन, वचन र कर्मले नै समानता प्रवद्र्धन गर्नु साताव्यापी सचेतना कार्यक्रमको उद्देश्य हुनेछ ।
श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकमा एक शताब्दीभन्दा बढी समयदेखि महिला अधिकारका लागि विश्वव्यापी रुपमा नारी जातिले संघर्ष गरेका प्रसंग कोट्याउँदै उहाँले संघीयतामा मुलुक गइसकेपछि नेपाली नारीका धेरै अधिकार संविधानले सुरक्षा गरेको वास्तविकता प्रस्तुत गर्नुभयो ।
उहाँले संविधानको मर्मअनुसार महिलाका हकअधिकार ग्रामीण भेगका अवला नारीले अनुभूत गर्न पाउने गरी सम्बन्धित सबै पक्षबाट योगदान हुनुपर्नेमा जोड दिँदै सामन्तवादका अवशेष परिवर्तित सन्दर्भमा कुनै पनि नेपाली नारीलाई मान्य हुँदैन भन्नुभयो ।
सोही मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले संविधानप्रदत्त अधिकार प्राप्तिमा नारीहरु क्रमशः जागरुक भइरहेका बताउँदै आफ्ना हकअधिकार प्राप्तिका लागि महिलाहरु अझ जागरुक हुन जरुरी रहेको बताउनुभयो ।
उक्त मन्त्रालयका सहसचिव राधिका अर्यालले साताव्यापी कार्यक्रमबारे जानकारी दिँदै नेपाली नारीका निम्ति संविधानले गरेका व्यवस्थाबारे चर्चा गर्नुभयो ।
एकीकृत पहल आवश्यक :राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यकतामा पनि भण्डारीले जोड दिएकी छन् ।
नेपालको महिला प्रतिनिधित्व विश्वकै लागि प्ररणादायी:प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा भएको महिला प्रतिनिधित्व विश्वकै लागि प्ररणादायी भएको छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताए ।
‘नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी कुरा हो’, शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महिला हक अधिकार प्राप्तिका लािग संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुको पालनामा सरकार गम्भीर छ ।’
प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने समेत बताए ।
गुणस्तरीय शिक्षा,आधारभुत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको भन्दै प्रधानमन्त्री ओलीले सुधारका लागि सबै सरोकारवाला निकायहरुको प्रभावकारी भूमिका आवश्यक भएकाे बताए ।
नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष प्रावधान राखिएको र महिला सशक्तीकरणका लागि त्यो महत्त्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ ।








