दमास्कस(सिरिया),२४फागुन(बीबीसी) । द्वन्द्वग्रस्त सिरियाको पूर्वी गुटा क्षेत्रमा अत्यावश्यक मानवीय सहायताको खाँचो रहेको बताइएको छ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा लडाइँ थप चर्किएको विवरणहरू आइरहँदा अन्तर्राष्ट्रिय रेडक्रसले सहायता पुर्याउन खतरापूर्ण रहेको बताएको छ।
सिरियाको सरकारी फौजले त्यहाँ एक महिनायता आक्रमण तीव्र पारेको छ। अल कायदाससम्बद्ध लडाकुहरूलाई धपाउन आक्रमण लक्षित रहेको सरकारी सेनाले दाबी छ।
तर आक्रमणहरूमा सयौँ सर्वसाधारण समेत मारिएको विवरण प्रकाशमा आएका छन्।
गएराति भएको आक्रमणमा पनि कैयौँ गैरसैनिकहरू मारिएको बताइएको छ।
ब्रिटेनस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले उक्त घटनामा ६२ जनाको ज्यान गएको बताएको छ। गुटा मिडिया सेन्टरले कम्तीमा २० जनाको मृत्यु भएको विवरण दिएको छ।
सरकार समर्थित फौजले अहिलेसम्म पूर्वी गुटाको आधाजसो भूभाग नियन्त्रणमा लिइसकेको छ।
गत साता राष्ट्रसंघले युद्धविरामको माग गरे पनि त्यो पूर्ण रूपमा विफल भएको देखिन्छ। त्यसबारे राष्ट्रसंघीय सुरक्षा परिषद्ले छलफल गर्दैछ।
गत फेब्रुअरी २४ मा सिरियाभरि ३० दिने युद्धविरामको माग गर्दै सुरक्षा परिषद्ले प्रस्ताव पारित गरेको थियो।
तर सिरियाली सरकार र उसको प्रमुख सहयोगी रुसले युद्धविराम विद्रोहीहरूको नियन्त्रणमा रहेका केही क्षेत्रमा लागु नहुने बताउँदै आएका छन्।
राष्ट्रसंघीय सहायता बोकेको सवारी साधनलाई गत सोमवार सहायता सामग्री आपूर्ति गर्न अनुमति दिइएको थियो तर आक्रमण जारी रहेपछि ती सवारी साधन त्यतिकै फर्किएका थिए।