जलवायु परिवर्तनका कारण पुरुषभन्दा महिला बढी प्रभावित हुने सम्भावना धेरै रहेको अध्ययनहरूले देखाएका छन्।
संयुक्त राष्ट्रसंघको तथ्याङ्कहरूले, जलवायु परिवर्तनका कारण विस्थापितमध्ये ८० प्रतिशत महिला रहेको देखाएका छन्।
हेरचाह गर्नुपर्ने तथा खाना र इन्धनको व्यवस्था गर्नुपर्ने जस्ता प्राथमिक भूमिकाका कारण उनीहरू बाढी र खडेरीको अवस्थामा बढी जोखिममा पर्ने गरेको पाइन्छ।
महिलाहरू बढी प्रभावित हुने गरेको विषय पहिचान गर्दै सन् २०१५ को प्यारिस सम्झौताले महिलाहरूको सशक्तिकरणसम्बन्धी प्रावधान राखेको थियो।
जटिलता
प्रभावित हुनेमध्ये ग्रामीण भेगका महिलामात्रै छैनन्।
संसारभर नै महिलाहरूले गरिबी बढी बेहोर्नुपरेको पाइन्छ।
साथै पुरुषको तुलनामा उनीहरूसँग कम सामाजिक तथा आर्थिक अधिकार छ।
त्यसैले पूर्वाधार, रोजगारी र बसोवासलाई प्रभावित पार्ने विपत्तिहरूबाट फेरि पुरानै स्थितिमा फर्कन जटिलता थपिरहेको छ।
सन् २००५ मा ‘कट्रिना’ आँधीपछि अमेरिकाको लुजियानामा बाढीबाट सबैभन्दा प्रभावितमध्ये अफ्रिकी-अमेरिकी महिलाहरू थिए।
अक्सफामको एउटा प्रतिवेदनका अनुसार, सन् २००४ को सुनामीबाट बाँच्न सफल प्रभावितहरूमध्ये श्रीलंका, इण्डोनेसिया र भारतमा पुरुष र महिलाको अनुपात ३:१ थियो।
अर्थात् प्रभावितस्थलहरूमा तीन पुरुष जीवित रहँदा एक महिलामात्रै बाँच्न सफल भइन्।