Prakash Adhikari January 27, 2022

फिलिपा रक्स्बी / स्वास्थ्य संवाददाता

लण्डन(संयुक्त अधिराज्य) १३ माघ(बीबीसी) । फाइजर र बायोन्टेक कम्पनीले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनलाई लक्ष्य गर्दै नयाँ खोपको क्लिनिकल परीक्षण सुरु गर्न लागेका छन्।

ती कम्पनीले बूस्टर मात्रा अनि खोप नलगाएका मानिसमा तीनवटा फरक मात्रा दिएर नयाँ खोपबाट प्राप्त हुने सुरक्षा परीक्षण गर्ने योजना बनाएका छन्।

अमेरिकामा हुने सम्भावना रहेको परीक्षणमा १ हजार ४ सय भन्दाबढी वयस्कहरू सहभागी हुने अपेक्षा गरिएको छ।

अमेरिकी कम्पनी मोडर्नाले पनि छिट्टै ओमिक्रोन भेरिअन्टलक्षित खोपको परीक्षण सुरु गर्ने योजना बनाएको छ।

त्यस्तै अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले पनि नयाँ खोपका लागि काम गर्न सुरु गरेका छन्।

तीव्रता
कोभिड गराउने कोरोनाभारसका नयाँ भेरिअन्टहरू उत्पन्न हुन थालेसँगै खोप उत्पादकहरूले कोरोनाभाइरसविरुद्ध विकास गरिएको खोपमा केही परिवर्तन गर्ने योजना बनाएका थिए।

विगत दुई महिनामा देखा परेको तीव्र गतिमा फैलिन सक्ने ओमिक्रोन भेरिअन्टका कारण उनीहरूले त्यो प्रक्रियालाई तीव्रता दिएका छन्।

कैयौँ राष्ट्रहरूले हाल उपलब्ध खोपको बूस्टर वा तेस्रो मात्रा उपलब्ध गराइरहेका छन्।

थप मात्रा खोपले ओमिक्रोन हुँदा समेत मानिसलाई गम्भीर बिरामी पर्न वा मृत्युबाट जोगाउनेगरी राम्रो तहको सुरक्षा प्रदान गरिरहेका छन्।

तर त्यसले कोरोनाभाइरस सङ्क्रमण वा मन्द लक्षणविरुद्ध प्रदान गर्ने सुरक्षा निकै कम छ र त्यो चाँडै घट्न सक्छ।

अत्यावश्यक
बायोन्टेकका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक प्राध्यापक उगुर साहिनले नयाँ तथ्याङ्कले ‘सङ्क्रमणविरुद्ध अनि मन्ददेखि मध्यम रोगविरुद्ध खोपले दिएको सुरक्षा विगतका स्ट्रेनको तुलनामा धेरै चाँडो घट्ने’ सङ्केत गरेको बताउनुभयो।

‘यो अध्ययन हाम्रो विज्ञानमा आधारित खोप विकास गर्ने दृष्टिकोणको भाग हो जसले ओमिक्रोनविरुद्ध पहिलेको भेरिअन्टमा जस्तै सुरक्षाको समान स्तर तर लामो अवधिको सुरक्षाको साथ प्राप्त गर्छ’, उहाँले भन्नुभयो।

फाइजर-बायोन्टेकले यो वर्ष कोभिड-१९ विरुद्ध खोपका ४ अर्ब मात्रा उत्पादन गर्ने अपेक्षा गरेको बताएका छन्।

परीक्षणले आवश्यक रहेको देखाएमा यो सङ्ख्यामा परिमार्जन गरिएका खोपका मात्रा पनि समावेश हुनेछन्।

परीक्षण
नयाँ खोपको परीक्षणका क्रममा ६ सय१५ जना वयस्कले फाइजर-बायोन्टेकले हाल उपलब्ध गराइरहेको खोपको दुई मात्रा प्राप्त गर्नेछन्।

त्यसपछि उनीहरूले ओमिक्रोनलक्षित खोपको एक मात्रा प्राप्त गर्नेछन्।

त्यस्तै ६ सय जना संलग्न अर्को समूहमा हाल उपलब्ध खोपको तीन मात्रा लगाइसकेका मानिसलाई ओमिक्रोनलक्षित खोप दिइनेछ।

अनि २ सय जना समाविष्ट अर्को समूहका खोप नलगाएका वयस्कहरूले भने ओमिक्रोनलक्षित खोपको तीन मात्रा प्राप्त गर्नेछन्।

कस्तो छ चुनौती

दक्षिण अफ्रिकामा ओमिक्रोन भेरिअन्ट फैलिन थालेको केही दिनमै खोप उत्पादकहरूले उक्त भेरिअन्टलाई लक्षित गर्दै आफूले १०० दिनभित्र आफ्ना खोपको नयाँ संस्करण तयार पार्ने बताएका थिए।

तर त्यसरी बनाइने खोप विद्यमान खोपभन्दा प्रभावकारी हुन्छन् भन्ने विषयमा शङ्का व्याप्त छ।

चीनबाट फैलिन थालेको कोरोनाभाइरसलाई लक्ष्य गरेर सुरुमा खोपहरू विकसित भएका थिए। ती खोपले अल्फा र डेल्टा भेरिअन्टविरुद्ध उच्च तहको सुरक्षा प्रदान गरे पनि।

तर ओमिक्रोन भेरिअन्ट उच्च गतिमा फैलिरहेकाले ‘अद्यावधिक खोप चाँडै बनाउन र प्रयोग गर्न एकदम कठिन भएको’ धारणा अक्सफर्ड-आस्ट्राजेनेका खोप निर्माणको नेतृत्व गरेका प्राध्यापक प्राध्यापक एन्ड्रू पोलर्डको छ।

Share Now

Leave a comment.