काठमाडौं,२४ फागुन । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसदमा नियमित रूपमा चुनाव हुने भएको छ ।
यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ ।
संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । शनिबार सभामुखका लागि मतदान हुनेछ ।
प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ ।
चुनावी कार्यतालिका
फागुन २५ सभामुख उम्मेदवारी
फागुन २६ सभामुख निर्वाचन
फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने
फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी
फागुन २९ राष्ट्रपतिको निर्वाचन
फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन
चैत १ उपसभामुख उम्मेदवारी
चैत २ उपसभामुख निर्वाचन
चैत ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी
चैत ४ उपाध्यक्षको निर्वाचन
स्रोत :अन्नपूर्णपोष्ट दैनिक)