सिलगढी(डोटी), २१ माघ । बिहीबार रातिदेखि जारी बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा यातायात बन्द भएको छ। लगातार बाक्लो हिमपातका कारण राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय (बुडर) ले जनाएको छ।
राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।
राजमार्गमा अवरोध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन्। उक्त राजमार्गअन्तर्गत साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ।
यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण बन्द भएको छ।
उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाडका लागि प्रस्थान गरेका सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। रासस


















