Prakash Adhikari February 3, 2022

काठमाडौं, २० माघ । नेपालमा कोरोनाका नयाँ संक्रमितको संख्या भन्दा निको हुनेको संख्या झण्डै तेब्बर पुग्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सार्वजनिजक गरेको बिवरण अनुसार बिहिबार अपरान्हसम्म थप ३ हजार १ सय ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सो अवधिमा ८ हजार ७ सय २३ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार बिहीवार थप १४ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ।

अहिलेको वृद्धिसँगै देशभरि पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ रहेको छ।

केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो।

कहाँ बढे सङ्क्रमित ?

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ५ सय ९ थप सङ्क्रमित फेला परेका छन्। अरू सङ्क्रमित विभिन्न जिल्लमा भेटिएका हुन्।

तीमध्ये १ हजार २ सय ४९ काठमाडौं जिल्लाका, ७७ भक्तपुर जिल्ला र १ सय ८३ ललितपुर जिल्लाका हुन्।

हाल काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७ सय ४८ छ।

विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।

चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।

के छ अरू तथ्याङ्क ?
विगत २४ घण्टामा १० हजार २६ पीसीआर र २ हजार ५ सय ७९ एन्टिजन विधिबाट गरी कुल १२ हजार ६ सय ५ वटा परीक्षण भएका थिए।

तीमध्ये पीसीआर गरिएका २७.३४ र एन्टिजन विधिबाट गरिएका १६.७८ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो।

उक्त अवधिमा ८ हजार ७ सय २३ जना सङ्क्रमितहरू निको भएका छन्।

हाल १५ वटा जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमितहरू देखिएका छन्।

साथै २० वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय भन्दामाथि छ।(बीबीसी)

Share Now

Leave a comment.