काठमाडौं, २४ माघ । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहर देखा परिरहँदा चिकित्सकहरूले सातदेखि १० दिनपछि कोभिड १९ सङ्क्रमित घरबाहिर निस्कन सकिने बताएका छन्।
सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ६५ वटा परीक्षण गर्दा १ हजार ५ सय ७० जनामा सङ्क्रमण देखिएको छ।
केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सङ्क्रमण दर सोमवार १३.८१ प्रतिशत रह्यो।
यो अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ४० हजारभन्दा बढी छ।
पछिल्लो २४ घण्टामा थप १३ जनाको कोभिड १९ ले गर्दा निधन भएको छ। योसँगै निधन हुनेको कुल सङ्ख्या ११ हजार ८ सय २७ पुगेको छ।
कहाँ कति सक्रिय सङ्क्रमित
हाल काठमाडौंमा ९ हजार ३ सय ९६ जना, ललितपुरमा ७ हजार ३६ जना र भक्तपुरमा २ हजार ६ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन्।
काठमाडौं उपत्यकाका तीनसहित १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने १७ वटा जिल्लामा २ सय भन्दा बढी सङ्क्रमितहरू रहेका छन्।
हाल २ सय ५५ जना आईसीयुमा र ४२ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण नेपालमा पछिल्लो सङ्क्रमणको लहर देखा परेको बताउने गरेका छन्।
ओमिक्रोन भेरिअन्टका कोरोनाभाइरसका अरू भेरिअन्ट भन्दा द्रुत गतिमा फैलने गरेको बताउने गरिन्छ।
अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोलले कोभिड १९ का लागि जिम्मेवार मुल कोरोनाभाइरस र पछि आएको डेल्टा भेरिअन्टभन्दा ओमिक्रोन बढी तेज गतिमा सर्ने बताएको छ।
तर विगतका भेरिअन्टभन्दा यसले शरीरमा कम असर गर्ने विज्ञहरूको मत पाइन्छ।
दश दिनसम्म होस पुर्याउन सुझाव
सङ्क्रामक रोग सम्बन्धी विज्ञ डाक्टर जनक कोइरालाका अनुसार सामान्यतया कोरोनाभाइरसका अरू भेरिअन्टले भन्दा ओमिक्रोन भेरिअन्टले कम अवधि प्रभाव पार्ने गरेको पाइन्छ।उहाँले भन्नुभयो, डेल्टा भेरिअन्टसँग तुलना गर्दा, त्यसको लक्षण सात दिन हुन्थ्यो भने यसको तीन देखि पाँच दिन मात्रै रहन्छ भनिन्छ। सर्ने पनि पाँच दिनपछि घटेर जान्छ। तर त्यसपछि सरेको पनि भेटिएको छ।नेपालमा डेल्टा पनि भएको र ओमिक्रोन पनि भएको हुनाले हामीले अहिले पनि सात देखि १० दिनसम्म होस पुर्याउनुपर्छ भनेका छौँ।”
उहाँले थप्नुभयो, “सङ्क्रमण भएका १०० जनालाई हेर्दा धेरैमा ७ दिनपछि ओमिक्रोनको सर्ने क्षमता बाँकी रहँदैन। त्यसलाई भाइरस मरिसकेको भन्न सकिन्छ। तर थोरै व्यक्तिमा ७ दिनदेखि १० दिनसम्म पनि अलिअलि भाइरस भेटिएको छ। त्यही भएर ५ देखि ७ दिनभित्र परीक्षण गर्दा नेगेटिभ आयो भने आइसोलेसनमा बस्नु पर्दैन्। तर पोजेटिभ आयो वा परीक्षण गरेको छैन भने १० दिनसम्म आइसोलेसनमा बस्नुपर्छ।ओमिक्रोन भेरिअन्टले फोक्सोमा भन्दा पनि नाक र घाँटीमा र श्वास प्रश्वास प्रणालीसँग जोडिएका माथिल्ला शरीरका अङ्गहरूमा प्रभाव पार्ने बताउने गरिएको छ।रुघा, मर्की र ज्वरोलाई यसको प्रमुख लक्षण मानिन्छ।डेल्टा भेरिअन्टले सिधै फोक्सोमा असर गर्ने र निमोनिया जस्तो गम्भीर बिरामी निम्त्याउने गरेको पाइन्छ।”
सङ्क्रमितबाट अरूलाई सर्ने जोखिम कहिलेसम्म
कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका चिकित्सकहरू ओमिक्रोनबाट सङ्क्रमित भएका अन्य व्यक्तिहरूसँग स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवहार गर्नुपर्नेमा जोड दिन्छन्।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. विमल शर्मा चालिसे भन्नुहुन्छ, “ज्वरो आएको हुनुहुँदैन। पारासिटामोल नखाएको अवस्थामा लगातार दुई दिनसम्म ज्वरो आएको छैन र लक्षण सुरु भएको सात दिन कटेको छ र अरू लक्षणहरूमा पनि सुधार देखिएको छ भने त्यस्ता मानिसहरूले मास्क लगाएर बाहिर निस्कन सक्छन्।”
उहाँले थप्नुभयो, “त्यस्ता मानिसहरूबाट सर्ने सम्भावना एकदमै कम हुन्छ। सर्दै सर्दैन भन्न सकिँदैन। तर एकदमै कम सम्भावना हुन्छ।”
नेपालमा गरिएको जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोन भेरिअन्टको पनि अर्को उपप्रजाति पाइएको वैज्ञानिकहरूले बताएका छन्।
ओमिक्रोन बीए.टु नाम दिइएको उक्त सब भेरिअन्ट अझै सङ्क्रामक हुने बताउने गरिएको छ।
तर नेपाली स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसका विभिन्न प्रकारका कारण भएका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या खुलाउने गरेका छैनन्।
कस्तो सावधानी आवश्यक
गएको वैशाखमा दोस्रो लहर देखा पर्दा डेल्टा भेरिअन्ट र अहिले बिस्तारै कमजोर हुँदै गएको तेस्रो लहरमा ओमिक्रोन भेरिअन्ट जिम्मेवार रहेको बताउने गरिएको छ।
“सर्ने सम्भावनाबारे डेल्टाको यस्तो, अल्फाको यस्तो वा ओमिक्रोनको यस्तो भन्ने अलग अलग अध्ययन छैन। पहिला हामीले १० दिन राख्यौँ, त्यो भन्दा अघि १४ दिन राख्यौँ। त्योभन्दा अघि दुई पटक पीसीआर जाँचेर नेगेटिभ देखिएपछि बल्ल बाहिर निस्कने भनियो।”डा.शर्मा चालिसे भन्नुहुन्छ, “ती मापदण्डहरू बिस्तारै परिवर्तन हुँदै आएका हुन्। पछिल्लो समय दुई दिनसम्म ज्वरो छैन र अरू लक्षण सुधार छ भने बाहिर निस् मिल्छ भन्ने गरेका छौँ।”
प्रारम्भिक तथ्याङ्कले ओमिक्रोनले मध्यम स्तरको बिरामी बनाउने तर कतिपय मानिसहरूमा गम्भीर प्रभाव पर्ने उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थासमेत आउन सक्ने देखाएको छ।
ओमिक्रोनका कारण सङ्क्रमितमध्ये थोरैलाई अस्पताल पुर्याउनुपर्ने आवश्यकता पाइएको भएपनि ठूलो सङ्ख्यामा सङ्क्रमण फैलँदा त्यसले जनस्वास्थ्य प्रणालीमा चाप थप्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले अनुरोध गर्ने गरेका छन्।
यो भेरिअन्टसँग जुझ्न खोप लगाउनुपर्ने, नियमित रूपमा मास्कको प्रयोग गर्नुपर्ने र कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिए परीक्षण गराउनुपर्ने विज्ञहरूको सुझाव पाइन्छ।(बीबीसीबाट)


















