Prakash Adhikari February 9, 2022

गीता पाण्डे/ बीबीसी
लखनऊ(भारत), २६ माघ । भारतको उत्तर प्रदेश(यूपी)मा भोलिदेखि राज्य विधान सभाको निर्वाचन हुँदैछ । भारतको संसदमा सबैभन्दा बढी प्रतिनिधि पठाउने यो राज्यको चुनावलाई जनमत संग्रहको रुपमा हेरिदैछ । सात चरणमा हुने यो निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो पकड कायम राख्न सके आगामी लोकसभा निर्वाचन उसको पक्षमा जाने र गुमाएमा त्यसको असरले भारतको सत्ता परिवर्तनको मार्ग खोल्न सक्ने विश्लेषकहरुले संकेत गरेका छन् ।

नेपालसँग सबैभन्दा धेरै सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा फेब्रुअरी १०, १४, २०,२३,२७ , मार्च ३ र ७ तारिखमा निर्वाचन हुँदै छ ।

भारतको राजनीतिमा उत्तर प्रदेश महत्त्वपूर्ण

आउँदो महिना भारतका पाँच राज्यमा निर्वाचन हुँदैछ तर धेरैको आँखा उत्तर प्रदेश अर्थात् यूपीको मुख्य प्रतिस्पर्धी क्षेत्रमा छ।

भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको यूपीमा २४ करोड मानिसहरू बस्छन्।

यदि यूपी अलग्गै देश हुन्थ्यो भने त्यो जनसङ्ख्याका हिसाबले विश्वमै चीन, भारत, अमेरिका र इन्डोनेशियापछि आउँथ्यो।

जनसङ्ख्याका हिसाबले पाकिस्तान वा ब्रजिलभन्दा पनि ठूलो हुन्थ्यो यूपी।

उक्त राज्यले सबैभन्दा धेरै अर्थात् ८० सांसद् भारतको संघीय संसद्‌मा पठाउने भएकाले त्यहाँ जित्ने दलले भारतमा शासन गर्न पाउँछ भन्ने गरिन्छ।

भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुसहित कयौँ प्रधानमन्त्री यसै प्रदेशबाट हुनुभएको थियो।

उत्तर प्रदेश

पश्चिमी राज्य गुजरातका बासिन्दा नरेन्द्र मोदी समेतले सन् २०१४ को आमनिर्वाचनमा आफ्नो संसदीय यात्राको सुरुवात यसै प्रदेशबाट गर्नुभएको थियो।

बनारसबाट उहाँ सन् २०१४ मा चुनिनुभयो भने २०१९ मा पनि पुनः निर्वाचित हुनुभयो।

त्यहाँ सन् २०१४ को चुनावमा मोदीको भारतीय जनता पार्टी (भाजपा(ले ७१ स्थान र सन् २०१९ मा ६२ स्थानमा जित हासिल गर्दै अधिकांश स्थान कब्जा गरेको थियो।

मुख्य खेलाडी को हुन् ?
सन् १९९० को दशकको अन्त्यतिरबाट राज्यको राजनीतिमा क्षेत्रिय दलहरू समाजवादी पार्टी र बहुजन समाज पार्टी (बीएसपी)को दबदबा रहंदै आएको छ।

शक्तिमा यी दुई दल आलोपालो भइरहंदा कंग्रेस र भाजपा किनारा लाग्ने गरेका थिए।

तर सन् २०१७ मा भाजपाले विधानसभाको चुनावमा ४ सय ३ सीटमध्ये ३ सय १२ मा जितेर स्पष्ट बहुमत ल्याएको थियो।

प्रधानमन्त्री मोदीको चमत्कारिक व्यक्तित्व र बढ्दो लोकप्रियताका माझ भाजपाले चुनावमा खसेको मतको झण्डै ४० प्रतिशत पाएको थियो।

उक्त दलले निकै विभाजनकारी अभिव्यक्तिका लागि चिनिएका धार्मिक सन्यासीबाट राजनीतिज्ञ बनेका गेरुवस्त्रधारी योगी आदित्यनाथलाई मुख्यमन्त्रीमा चयन गर्‍यो।

आगामी १० मार्चमा मतगणना हुँदा उनले उक्त पदमा दोहोरिने आशा गरेका छन्।

उनलाई सघाउने क्रममा मोदीले पछिल्ला महिनामा उक्त राज्यमा झण्डै एक दर्जनपटक भ्रमणहरू गर्नुभएको छ।

जसले उत्तर प्रदेशमा जित्छ उसैले भारतमा शासन गर्छ भन्ने गरिन्छ
जसले उत्तर प्रदेशमा जित्छ उसैले भारतमा शासन गर्छ भन्ने गरिन्छ

उहाँले आमसभाहरूलाई सम्बोधन गर्दै मतदातालाई भाजपालाई अर्को अवसर दिन आग्रह गर्नुभयो।

तर पछिल्ला वर्षमा उक्त दलले विवादित कृषिसम्बन्धी कानुनदेखि कोभिड महामारी व्यवस्थापन गर्नेजस्ता बिषयमा आफ्नो पुरानो आधार गुमाउँदै गएको देखिन्छ।

नयाँ कृषि कानुन वर्षदिनको कृषकहरूको प्रदर्शनपछि फिर्ता लिइएको थियो।

कोभिड महामारीमा ज्यान गुमाएको ठानिएका सयौँको शव गङ्गा नदीमा देखा परेको थियो।

राज्य सरकारले महामारीमा निःशुल्क राशन उपलब्ध गराए तापनि उकालो लागेको मूल्य वृद्धि र युवाहरूको रोजगारीको समस्याका विषयलाई लिएर मानिसहरू खिन्न छन्।

४९ वर्षिय आदित्यनाथले आफ्ना र्‍यालीहरूमा रोजगारी सिर्जना, अर्थतन्त्र सुदृढिकरण र राज्यमा कानुनी व्यवस्थाको सुधार गरेको दाबी गर्नुभएको छ।

तर उनले हिन्दू मतदाताको मत तान्न मुस्लिमविरोधी धारणाहरूको समेत प्रयोग गरिराखेका छन्।

आदित्यनाथको मुख्य चुनौति समाजवादी पार्टीका ४८ वर्षीय अखिलेश यादव छन्।

जसलाई सन् २०१७ मा भाजपाले मुख्यमन्त्रीबाट विस्थापित गर्न सफल भएको थियो।

यादवले भाजपाबाट शक्ति फुत्काउन सबै घरमा निःशुल्क विद्युत, गरिब महिलालाई पेन्सन र किसानहरूलाई ब्याजरहित ऋण दिने बाचा गर्नुभएके छ।

केही साना क्षेत्रिय दलसँग गठबन्धन गरेपछि उहाँको सम्भावना बढेको देखिएको छ।

दलित समुदायबाट उदाएकी बहुजन समाज पार्टीकी नेतृ मायावती समेत पुनः शक्तिमा फर्कने प्रयासमा हुनुहुन्छ तर धेरैले उहाँलाई रोज्न चाहेजस्तो देखिन्न।

चारपटककी मुख्यमन्त्री उहँले सन् २०१२ मा शक्ति गुमाउनुभयो।

दलित समूदायमाझ चर्चित उहाँ आफ्नो कार्यकालमा आफ्नै र अन्य कयौँ दलित आदर्श व्यक्तिहरूको मुर्ति बनाउन दशौँ लाख डलर खर्चिएको भन्दै आलोचित हुनुहुन्छ।

झण्डै एक दशक शक्तिबाट पर रहेकी उहँँको यस चुनावी माहोलमा धेरै चमकधमक देखिंदैन।

कङ्ग्रेसको तर्फबाट प्रीयंका गान्धीले नेतृत्व गरेको उत्साही चुनावी अभियानले समेत धेरैको ध्यान खिचेको छ।

भारतको मुख्य विपक्षी दल कङ्ग्रेसको तर्फबाट प्रियंका गान्धीले नेतृत्व गरेको उत्साही चुनावी प्रचार अभियानले समेत धेरैको ध्यान खिचेको छ।

बलात्कार पीडित र प्रहरी अत्याचारमा परेका परिवारहरूमा पुगेर उहाँ समाचारमा छाउनुभएको छ।

महिला मतदातातर्फ लक्ष्यित उहाँको जोडले समेत धेरैको ध्यान खिचेको छ।

उहाँको व्यक्तिगत प्रभाव उच्च देखिए तापनि उहाँको चुनावी अभियानमा समर्थकहरूको प्रभाव कम देखिन्छ।

सन् १९८९ यता उक्त राज्यमा कुनै पनि दलले लगातार दोस्रो कार्यकालका लागि चुनाव जितेको छैन।

त्यसैले यो चुनाव भाजपा, आदित्यनाथ र उनको हिन्दू राष्ट्रवादको राजनीतिको जनमत सङ्ग्रहजस्तो हुनेछ।

Share Now

Leave a comment.