इटानगर(अरुणाचल, भारत), २६ चैत्र । भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिमपहिरोमा परी ७ सैनिकको मत्यु भएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले दिएको जानकारीअनुसार फेब्रुअरी ६ मा गएको हिमपहिरोमा उनीहरु बेपत्ता भएका थिए।
भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ।
हिमपहिरोमा परेसँगै उनीहरुको खोजीकार्य तीव्र पारिएको थियो।
भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै प्रयास गर्दा पनि हिमपहिरोमा परेका सातजनामध्ये कसैलाई पनि जीवित फेला पार्न नसकिएको उल्लेख गरेको छ।
हिमपहिरो गएको स्थान १४ हजार ५ सय फिटको उचाइमा पर्छ।
सेनाले दिएको जानकारीअनुसार उनीहरु नियमित गस्तीको लागि उक्त क्षेत्रमा गएका थिए।
सो क्षेत्रमा गस्तीमा जानु पनि निकै जोखिमपूर्ण रहने गरेको समाचारमा उल्लेख छ।


















