Prakash Adhikari February 8, 2022

 

काठमाडौं, २५ माघ । टी २० विश्वकप क्रिकेट २०२२ को क्वालिफायर र चतुष्कोणीय टी २० अन्तर्राष्ट्रिय खेलका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बेलुका ६ः३० बजे ओमान प्रस्थान गरेको छ।

फेब्रुअरी ११ देखि १४ सम्म चतुष्कोणीय सिरिज खेल्न र  फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा सहभागी हुन नेपाली टोली ओमान प्रस्थान गरेको हो।

नेपाल क्रिकेट संघ र प्रशिक्षक पुबुदु दसानायकेले यस अघिनै घोषणा गरेको १६ सदस्यीय टोलीमा देब्रे हाते स्पिनर सागर ढकाल पनि थपिएका छन्  ।

सागरले हालै सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा तथा एभरेस्ट प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री कपमा तिन वटा मात्र खेल खेलेका ढकालले ६ विकेट लिएका थिए भने एभरेष्ट प्रिमीयर लिगमा प्रतियोगिताकै उत्कृष्ट घोषित भएका उनले ७ खेलमा १४ विकेट लिएका थिए। उनले यस अघि यु १९ राष्ट्रिय टिमको लागि खेलिसकेका छन्।

यही वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ।

यो समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन्।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी छन्।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन्।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ। दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल सम्मिलित छन् ।

ओमान प्रस्थान गर्नु अगाडि नेपाली सञ्चारमाध्यमहरुलाई दिइएको अन्तरवार्तामा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले यसपटक नेपाली टिमको अभ्यास राम्रो भएको र सबै खेलाडीहरुबीच सुमधुर सम्बन्ध र आपसी समन्वय रहेकोले आफ्नो टिम विश्वकप खेल्न छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले फेब्रुअरी १८ माआयोजक ओमानसँग  उद्घाटन खेल खेल्नेछ।

ग्लोबल छनोटको खेल तालिका :
फेब्रुअरी १८ – नेपालविरुद्ध ओमान
फेब्रुअरी १९ – नेपालविरुद्ध फिलिपिन्स,
फेब्रुअरी २१ – नेपालविरुद्ध क्यानडा
फेब्रुअरी २२ – सेमिफाइनल
फेब्रुअरी २४ – फाइनल

ग्लोबल छनोट खेलअघि नेपालले ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ।

उक्त सिरिजमा नेपालसहित ओमान, यूएई र आयरल्यान्ड रहेका छन्।

सिरिजमा नेपालले फेब्रुअरी ११ तारिख ओमान, १३ तारिखमा यूएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्नेछ।

Share Now

Leave a comment.