काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका बढाउदै लैजान खोज्नुभएको छ ।
यसै क्रममा राष्ट्रिय मुद्दाहरुमा आफ्नो धारणा सार्वजनिक गर्ने र विपक्षी दलहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले उहाँले मंगलबार संसदको प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्नुभएको छ ।
डा. कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार साँझ उहाँको निवास बालकोट जानुभएको थियो ।
भेटमा ओली र कोइरालाबीच स्थानीय निकायको चुनावलगायत समसायिक राजनीति बारेमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले स्थानीय निकायको चुनाव वैशाख ३० मा तोकेको छ। तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिनुभएको थियो ।
दुई नेताहरुको बीचमा अमेरिकाले दिएको ६० अर्ब अनुदानको विकास सहयोग संझौता संसदबाट पारित गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।


















