काठमाडौं, २६ माघ । नेपाल एयरलाइन्सको ट्विन ओटर विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ ।
काठमाडौं विमानस्थलबाट विहान ९:०५ बजे उडान भरेको विमान १०:०२ मिनेटमा उक्त विमानस्थलमा अवतरण गरेको थियो ।
पेम्बा शेर्पा र रसित मल्लसहित चालक दलले निगमको श जहाज इलामको सुकिलुम्बामा अवतरण गराउनुभएको थियो।
यो विमानस्थलमा आगामी फागुन ८ देखि नियमित उडान गरिँदैछ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशनमा उक्त विमानस्थलमा परीक्षण उडान गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
नेपालका आन्तरिक उडानका विमान कम्पनीलाई इलाम अर्को थप गन्तव्य भएको छ भने सौखिन र हवाई यात्रा रुचाउने आन्तरिक पर्यटकहरुको हवाई मार्गबाट इलाम घुम्ने चाहना पनि पूरा हुने भएको छ ।
विमानस्थलको धावनमार्ग कालोपत्रे सकिएपछि नेपाल वायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो।
यसअघि तारा एयरको विमानले कच्ची धावनमार्गमा २०७५ जेठमा पहिलो पटक सफल परीक्षण गरेको थियो। ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको विमानस्थलको शिलान्यास २०६८ मा भएको थियो।


















