काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।
बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ३ पीसीआर र ४ हजार ७ सय ५३ वटा एन्टिजन परीक्षण गरिएको थियो।
जम्मा १६ हजार ३ सय ५६ परीक्षणमा २ हजार ४ सय १ सङ्क्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणमध्ये करिब १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड १९ ले गर्दा निधन भएको छ। योसँगै निधन हुनेको कुल सङ्ख्या ११ हजार ८ सय ५२ पुगेको छ।
८२ प्रतिशतमा ओमिक्रोन बीए.टु
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीताकौशल मिश्रले पछिल्ला नयाँ भेरिअन्टहरूबाट जोखिम अझै कायम रहेकाले सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो।
प्रवक्ता मिश्रले ९५ वटा नमुना जीन सिक्वेन्सिङका लागि गएको माघ २४ गते भारत पठाइएकोमा सबैमा ओमिक्रोन पुष्टि भएको जानकारी दिनुभयो।
उहाँले त्यसमध्ये ७८ वटा अर्थात ८२ प्रतिशत ओमिक्रोनको बीए.टु पुष्टि भएको बताउनुभयो।
ओमिक्रोन भेरिअन्टका कोरोनाभाइरसका अरू भेरिअन्ट भन्दा द्रुत गतिमा फैलने गरेको बताउने गरिन्छ।
ओमिक्रोन बीए.टु के हो ?

भाइरसहरू उत्परिवर्तन भइरहँदा उनीहरू बेलाबेलामा विभिन्न उपसमूहमा टुक्रिन्छन्।
ओमिक्रोनको हकमा पनि त्यस्तै भएको छ र यसको उपसमूहमा बीए.वान, बीए.टु, बीए.थ्री र बी.वान.वान.फाइभ टु नाइन देखा परेका छन्।
बीए.वानका कारण अहिलेका अधिकांश सङ्क्रमण भएका छन्।
तर पछिल्लो समयमा एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन्।
डब्ल्यूएचओका अनुसार उक्त सबभेरिअन्ट फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ।
ओमिक्रोन बीए.टुलाई कहिलेकाहीँ लुकेर बस्ने उपप्रजाति भनिने गरिएको छ।
यो सबभेरिअन्टमा अनुसन्धानकर्ताहरूले डेल्टा र ुनियमितु बीए।वान ओमिक्रोनलाई छुट्टाउन प्रयोग गर्दै आएको जेनेटिक मार्कर अर्थात् आनुवंशिक चिन्ह हुँदैन।
अरू भेरिअन्ट जस्तै बीए।टुको सङ्क्रमण नाक वा घाँटीबाट निकालिएका र्यालजस्ता तरल पदार्थ र पीसीआर कोभिड परीक्षण किटहरूले पत्ता लगाउँछन् तर तिनले बीए.टु र डेल्टाबीचको फरक पत्ता लगाउन सक्दैनन्।
सुनिश्चित हुनका लागि थप परीक्षणहरू गराउनुपर्ने हुन्छ।

बैतडीमा खोप
बीए.टु विगतका भेरिअन्टभन्दा अझ सङ्क्रामक रहने ठानिएको छ तर अहिलेसम्मको तथ्याङ्कले तिनले गम्भीर समस्या निम्त्याउने सङ्केत दिएका छैनन्।
अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोलले कोभिड १९ का लागि जिम्मेवार मुल कोरोनाभाइरस र पछि आएको डेल्टा भेरिअन्टभन्दा ओमिक्रोन बढी तेज गतिमा सर्ने बताएको छ।
तर विगतका भेरिअन्टभन्दा यसले शरीरमा कम असर गर्ने विज्ञहरूको मत पाइन्छ।
चिकित्सकहरूले करिब ५ दिनमा ओमिक्रोन भेरिअन्ट निष्क्रिय हुने भएपनि लक्षण देखिएका एक हप्ता देखि १० दिनसम्म सावधानी अपनाउन सुझाव दिँदै आएका छन्।
कहाँ कति सक्रिय सङ्क्रमित ?

यो अवधिमा ७ हजार ७ सय ७७ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ३० हजारभन्दा बढी छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ सय ९० जना, ललितपुरमा १ सय २ जना र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले काठमाडौंमा ७ हजार ७ सय २१, ललितपुरमा ३ हजार ५ सय ४ र भक्तपुरमा २ हजार ५ सय १९ सक्रिय सङ्क्रमित रहेका छन्।
विभिन्न १३ वटा जिल्लामा ५ सय भन्दाबढी सङ्क्रमित रहेका छन् भने १६ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
हाल २ सय ४२ जना आईसीयूमा र ४२ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ।(बीबीसीबाट)


















