काठमाडौं, २६ माघ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी पी स्मृतिनगर सानेपामा बस्ने छ।
बैठकमा कार्यकाल समाप्त भएका र नेतृत्वबिहिन भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व चयन, अधिवेशन स्थगित भएका १६ जिल्लाको अधिवेशन र स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ।
कोरोना संक्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन।
आजको कार्यसम्पादन समितिको बैठकलाई सुव्यवस्थित बनाउने आवश्यक तयारी गर्ने सम्बन्धमा भएको छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी दिन बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारीबीच बैठक भएको थियो ।
बुधबारको बैठकमा मङ्गलबार पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभएको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा ििनर्धारत विषयमा निर्णय लिइने र पार्टीलाई आगामी दिनमा सशक्त रूपमा अगाडि बढाइने जानकारी प्रवक्ता महतले दिनुभएको छ।


















