Prakash Adhikari February 10, 2022

 

रमेश गिरी
सानो थिमी(भक्तपुर), २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते बिहान ८ बजे सुरु हुने भएको छ।

त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षा तालिका सार्वजनिक गरेको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा आगामी वैशाख २० गते सम्पन्न हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ।

बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

वैशाख ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ।

वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ। वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इन्जिनियरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।

यसैगरी वैशाख १५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनीयरिङ सर्भेइङको परीक्षा हुनेछ।

त्यस्तै वैशाख १६ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेद विद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ भने वैशाख १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेद विद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।

वैशाख १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इन्जिनियरिङको परीक्षा हुनेछ। वैशाख १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ।

अन्तिम दिन वैशाख २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इन्ड्रस्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, सङ्गीत, वाद्य वादन र नृत्यको परीक्षा हुने भएको छ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभएको छ।

यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।

कोरोना भाइरस सङ्क्रमणका कारण २ वर्ष एसईईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसईई परीक्षा चैत महिनामा हुने गरेकामा यस वर्ष भने कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिन बोर्डले नियमित समयभन्दा एक महिना ढिला गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। रासस

Share Now

Leave a comment.