बालकोट(भक्तपुर), १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ ।
आइतबार पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको निवासमा बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा यो कदम आएको बताउनुभयो ।
महासचिव पोखरेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको जिकिर गर्नुभयो ।
उहाँका अनुसार एमालले यसलाई लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रुपमा लिएको छ र यसलाई पार्टीले गम्भीर ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ ।


















