Prakash Adhikari February 13, 2022

 

सानेपा(ललितपुर), १ फागुन । नेपाली काँग्रेसले न्याय सम्पादनमा लामो समयदेखि देखिएको अड्चनलाई हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव ल्याउनु परेको बताएको छ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले अदालतको अवरोध हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभएको छ ।

‘छलफल(संवाद गरेर अवरूद्ध प्रक्रियालाई समाप्त गरी कानुन, संविधान अनुसार न्याय सम्पादन अगाडि बढोस् भन्ने समग्रको चाहना स्पष्ट ढंगले अगाडि बढ्न नसकेको अवस्थामा सांसदहरूले न्याय सम्पादन सुचारु गर्ने मनसायबाट यो प्रस्ताव दर्ता गराउनुभएको भन्ने जानकारी आएको छ।’ उहाँले थप्नुभयो ।

उहाँले कार्य सम्पादन समितिको बैठक पर्सी फागुन ३ गते ३ बजेका लागि बोलाइएको जानकारी पनि दिनुभयो ।

प्रवक्ता महतले एमसिसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान संचालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको जानकारी दिनुभयो ।

उहाँले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरू एकमत रहेको पनि दोहोर्याउनुभयो।

‘एमसीसी पास गर्ने कुरामा त हाम्रो पार्टीमा कुनै विमति छैन। एमसीसीबारे भ्रमण चिर्न देशव्यापी अभियान चलाउने, संसदमा पनि यो प्रस्ताव लगेर पास गराउने अभियानमा पनि पार्टी पूर्ण रूपमा लाग्ने र हाम्रो संसदीय दलको बैठकमा पनि हुन्छ। त्यो नै निष्कर्ष पार्टीको हो,’ प्रवक्ता महतले भन्नुभयो ।

नेपाली कांग्रेसको कार्य सम्पादन समितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु— विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एन.पी साउँदले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Share Now

Leave a comment.