बिर्तामोड(झापा),२६ फागुन । झापामा भैरहेको रमपम तेस्रो झापा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजक रमपम झापा–११ ले रुस्लान थ्रीस्टारलाई हराउँदै रमपम तेस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिर्ता बजारस्थित दोमलाल राजवंशी खेल मैदानमा सम्पन्न निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा घरेलु टोलीले पेनाल्टी शुटआउटमा जितेको हो ।
नियमित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो । जसमा झापाले थ्रीस्टारमाथि ४–३ को जित हात पार्दै फाइनल यात्रा पक्का गर्यो ।
शुक्रबारको पहिलो सेमिफाइनलमा झापाका डिफेन्डर देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए ।
उनले पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो सेमिफाइनल खेल अर्को दुई दावेदार टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।