Prakash Adhikari March 10, 2018

काठमाडौं, २६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा एमालेद्धारा प्रस्तावित बामगठबन्धनका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिएका छन् ।
उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।

सत्तारुढ बामगठबन्धनसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गर्न लागेको हो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपालाई सरकारमा आए राम्रो मन्त्रालय र उपराष्टपतिको पद दिने प्रस्ताव सार्वजनिक रुपमा गरिसकेका छन् ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए।

वर्तमान राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट कुमारीलक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् ।

Share Now

Leave a comment.