काठमाडौं, ३ फागुन । नेपाली काँग्रेसले विधान अनुरुप निर्वाचित कार्य समितिको पदावधि सकिएका भातृ संगठनहरुलाई विघटन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, सानेपा ललितपुरमा मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गर्ने निर्णय गरेको जानकारी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले दिनुभयो ।
उहाँले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बताउनुभयो ।
विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउने निर्णय भएको छ । बैठकले नयाँ कमिटी ल्याउने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको पार्टी प्रवक्ता डा. महतले जानकारी दिनुभयो ।


















