काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)संग नेपालको सडक मर्मत संभार र विद्युत प्रशारण लाइन निर्माणका लागि लिन गरिएको ५० करोड अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी संझौता अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताउनुभयो । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उहाँले संवाददाताहरुसंग भन्नुभयो ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने कार्यक्रम छ ।
सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले एमसीसीका बारेमा स्पष्ट कुरा नराखेकोले सभामुख अग्निप्रसाद सापकोटा एमसीसी टेबल गर्न विषयमा अलमलमा हुनुहुन्थ्यो ।
उहाँ आबद्ध रहेको नेकपा माओवादीले पनि एमसीसी संझौता छलफलका लागि पेश गर्न दिने सहमति गरेकोले आजको कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यो विषय संसदको कार्य सूचिमा समेटिने छ ।
संसदको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । त्यस पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभएको छ, ‘अब सडकमा होइन, संसदमा गहन रुपमा छलफल हुन्छ । एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत असोज १३ गते एमसीसीको अध्यक्षलाई यो संझौता पारित गर्न नेपाललाई ५ महिना समय लाग्ने पत्र दिनुभएको थियो । अमेरिकाले त्यसलाई आधार मानेर नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।
यो समय सीमामा नेपालले अनुदान स्वीकृत नगरे अन्य राष्ट्रलाई यो रकम दिने चेतावनी अमेरिकी अधिकारीहरुले दिइसकेका छन् ।


















