जेम्स ल्यान्डेल / कूटनीतिक संवाददाता बीबीसी
युद्धको कुहिरोमा हुँदा बाहिर निस्किने बाटो देख्न गाह्रो हुन्छ। युद्धक्षेत्रका समाचार, कूटनीतिक कुरा र पीडितका दुःखको भावनाले एकोहोरो बनाउन सक्छ।
त्यसैले अहिलेलाई एक कदम पछाडि हटेर सोचौँः युक्रेनरुस युद्धको अन्त्य कस्तो होला?
नेता र युद्ध योजनाकारले आकलन गरिरहेका सम्भावित परिदृश्यहरू के के हुन् ? कमैले ठोकुवा गरेर भन्न सक्छन् तर सम्भावित नतिजाहरू यस्ता हुन सक्छन्। तीमध्ये धेरै निराशाजनक छन्।
छोटो युद्ध
यो परिदृश्यमा रुसले सैन्य गतिविधि बढाउँछ र युक्रेनमाथि अझै धेरै आक्रमण गर्छ। अहिलेसम्म ठूलो भूमिका नखेलेको रुसी वायुसेनाले घातक आक्रमण गर्छ।
युक्रेनका महत्त्वपूर्ण पूर्वाधारहरूमा ठूलो साइबर आक्रमण हुन्छ। ऊर्जा वितरण र सञ्चार सञ्जाल काटिन्छन्। हजारौँ नागरिकको मृत्यु हुन्छ।
GRAPHIC WARNING
This is what the city of Gostomel looks like right now. Dead bodies everywhere. #ukraine #UkraineRussianWar #Russian #WARINUKRAINE #WarCriminal pic.twitter.com/RXCwLLU32Z
— Manishhh (@Manishkumarsah1) March 5, 2022
साहसिक प्रतिरोधका बाबजुद किएभ केही दिनमै रुसी नियन्त्रणमा पुग्छ र युक्रेनमा रुस(समर्थित सरकार स्थापित हुन्छ। राष्ट्रपति जेलेन्स्की मारिन्छन् वा पश्चिम युक्रेन वा विदेश भागेर आफ्नो सरकार कायम गरेको दाबी गर्छन्।
रुसी राष्ट्रपति पुटिनले विजयको उद्घोष गर्नुहुनेछ र केही सैनिक फिर्ता गर्छन्। युक्रेनमा नियन्त्रण कायम राख्न केही सैनिक त्यही रहन्छन् र युक्रेन पनि बेलारुसजस्तै मस्कोको इसारामा चल्ने राष्ट्र बन्छ।
यो परिदृश्य असम्भव छैन तर यसका लागि केही कुराहरू मिल्नुपर्छः रुसी सेनाले युद्ध तरिकामा सुधार गर्नुपर्छ र युक्रेनको प्रतिरोध कम हुनुपर्छ।
पुटिनले युक्रेनको सत्ता परिवर्तन गर्न र पश्चिमासँग मिल्नबाट रोक्न सक्नुहुन्छ। तर रुससमर्थित सरकार गैरकानुनी र विरोधको निसाना हुनेछ। यो परिदृश्यमा युक्रेन अस्थिर हुनेछ र पुनः सङ्घर्ष हुने सम्भावना उच्च हुनेछ।
लामो युद्ध
तर यो युद्ध लामो हुने सम्भावना बढी छ। रुसी सैनिकहरू नैतिक बल वा कमजोर व्यवस्थापन वा कमजोर नेतृत्वका कारण कमजोर हुनेछन् अथवा युक्रेनको सडकमा भएका प्रतिरोधका कारण रुसी सेनालाई सहर कब्जा गर्न असहज हुनेछ।
यस्तो अवस्थाले सन् १९९० को दशकमा रुसी सेनाले चेचन्याको राजधानी ग्रोन्जीलाई कब्जा र ध्वस्त गर्न लगाएको लामो र क्रूर सङ्घर्षको झझल्को दिनेछ।

रुसले ग्रोन्जी कब्जा गर्दा चेचन्याका लडाकुहरू
अनि रुसी सेना युक्रेनको सहरहरूमा उपस्थित भए पनि उनीहरूलाई नियन्त्रण कायम राखिराख्न गाह्रो हुनसक्छ। युक्रेनको सेना स्थानीय बासिन्दाको सहयोगप्राप्त विद्रोही हुन सक्छन्। उनीहरूलाई पश्चिमा देशहरूले हतियार दिइराख्नेछन्।
तर सायद धेरै वर्षपछि मस्कोमा नयाँ नेतृत्व आएपछि रुसी सेनाले सन् १९८९ मा अफगानिस्तान छोडे जस्तै युक्रेन छोड्नेछन्।
युरोपेली युद्ध
के यो युद्ध युक्रेनको सीमाबाहिर पुग्न सक्ला? पुटिनले नेटोको सदस्य नभएका सोभियत सङ्घका पुराना क्षेत्रहरू जस्तै मल्डोभा र जर्जियामा सेना पठाएर कब्जा गर्ने प्रयास गर्न सक्नुहुन्छ।
अथवा कुनै गल्तीले वा जानीजानी युरोपमा युद्ध सुरु हुनसक्छ। पुटिनले युक्रेनलाई हतियार दिने पश्चिमा देशहरूको कदमलाई आक्रमण भन्दै प्रतिरोध गर्नुपर्ने बताउन सक्नुहुन्छ। उहाँले नेटोका सदस्य रहेका लिथूएनिआजस्ता देशमा सेना पठाउने धम्की दिन सक्नुहुन्छ।

खार्किभ
यो परिदृश्य धेरै खतरनाक हुन्छ र नेटोसँग युद्धको जोखिममा हुन्छ।
नेटोको सैन्य सहयोग चार्टरको दफा ५ का अनुसार कुनै एक सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमण हो।
तर आफ्नो नेतृत्व बचाउने एक मात्र विकल्प त्यही भएको अवस्थामा पुटिनले यस्तो जोखिम मोल्न सक्नुहुन्छ।
पुटिनलाई युक्रेनमा हार्न लागेको महसुस भयो भने उहाँ जोखिम लिने मनस्थितिमा पुग्न सक्नुहुन्छ।
अहिलेसम्म थाहा भइसकेको कुरा के हो भने अन्तर्राष्ट्रिय मान्यताहरू तोड्न पुटिन सङ्कोच गर्नुहुन्न। त्यही कुरा परमाणुअस्त्रको विषयमा पनि लागु हुन्छ।
कूटनीतिक समाधान
यो सबैबीच के कूटनीतिक समाधान सम्भव छ ?
“अहिले बन्दुक बोलिरहेको छ तर संवादको बाटो जहिले पनि खुला रहनुपर्छ”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले भन्नुभएको छ।
निश्चित रूपमा संवाद कायम छ। फ्रान्सका राष्ट्रपति माक्रोँले फोनमा पुटिनसँग संवाद गर्नुभएको छ।
अनि आश्चर्यजनक रूपमा रुसी र युक्रेनी अधिकारीहरू बेलारुसको सीमामा वार्ताका लागि भेटेका छन्। उनीहरूले उपलब्धि हासिल नगरेकै भए पनि पुटिनले कम्तीमा वार्तापछिको युद्धविरामलाई नकारेका छैनन्।
तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न पश्चिमाहरूले रुसलाई युद्ध रोक्ने खालको प्रस्ताव दिन सक्छन् कि सक्दैनन् भन्ने हो। रुसमाथिका प्रतिबन्ध हटाउन के चाहिन्छ भन्ने कुरा रुसी नेतृत्वलाई थाहा हुनु आवश्यक भएको कूटनीतिज्ञहरू बताउँछन्।

खार्किभ
यो परिदृश्य कल्पना गरौँः रुसका लागि युद्ध खराब भयो, प्रतिबन्धका कारण मस्कोलाई गाह्रो भयो र रुसी सैनिकका मृत्युका कारण रुसमा पुटिनविरोधी भावना बढ्यो। यस्तो अवस्थामा पुटिनले आफूले गल्ती गरेको अनुभव भयो भने पनि उहाँलाई युद्ध रोक्दा हुनसक्ने बेइज्जतीका कारण यसलाई निरन्तर राख्ने दबाव हुनसक्छ।
चीनले यस्तो अवस्थामा रुसलाई युद्ध नरोकेसम्म रुसबाट तेल र ग्यास नकिन्ने बताउन सक्छ। यस्तो अवस्थामा पुटिनलाई बाहिर निस्किने सहज बाटो चाहिन्छ।
त्यस्तै युक्रेनको नेतृत्वले पनि देश विनाशभन्दा राजनीतिक सहमतिको बाटो रोज्न सक्छ। त्यस्तो अवस्थामा कूटनीतिज्ञहरूले सहमतिको प्रयास गर्नेछन्।
मानौँ युक्रेनले क्राइमिया र डोन्बासका केही क्षेत्र रुसकै रहेको मान्न सक्छ अनि रुसले युक्रेनको स्वतन्त्रता र युरोपसँगको मित्रता मान्न सक्छ। यो अहिले सम्भव देखिन्न तर हिंसात्मक युद्धको अन्त्यमा यस्तो परिदृश्य पनि सम्भव हुनसक्छ।
पुटिनको बहिर्गमन
अनि भ्लादिमिर पुटिन? उहाँले आक्रमणको घोषणा गर्दा भन्नुभएको थियोः ूहामी जुनसुकै नतिजाका लागि पनि तयार छौँ।ू
तर यसको नतिजा पुटिनको शक्ति नै गुम्ने भयो भने? यो अहिले असम्भव नै देखिन्छ।
हालैका दिनमा विश्व परिवर्तित भएको छ र यो कुरा पनि हुनसक्ने मानिन थालेको छ।
किङ्स कलेज लन्डनका युद्ध अध्ययनका प्राध्यापक सर लरेन्स फ्रेडम्यानले यो साता लेख्नुभएको छ, ूअहिले जति किएभमा सत्तापलट हुने सम्भावना छ त्यति नै मस्कोमा पनि छ।ू

रुसी विरोध
उनी किन यस्तो लेखे?
सायद पुटिनले विध्वंसात्मक युद्ध सुरु गरेका छन्। हजारौँ रुसी सेना मारिएका छन्। आर्थिक प्रतिबन्धले पोल्छ। पुटिनले जनसमर्थन गुमाउँछन्। अनि सम्भवतः जनआन्दोलनको वातावरण बन्नेछ।
उनले त्यो दबाउन खोज्नेछन् तर धेरै सैन्य, राजनीतिक र प्रभावशाली व्यक्तिहरू पुटिनको विरोधमा हुनेछन्। पश्चिमा देशहरूले पुटिनको स्थानमा अरू आएका प्रतिबन्ध हटाउने बताउन सक्छन्।
क्रेम्लिनमा हिंसात्मक सत्तापलट हुनसक्छ।
यो अहिले सम्भव देखिँदैन तर जब पुटिनबाट फाइदा लिइरहेका मानिसहरूले उनले आफ्नो स्वार्थपूर्ति गर्न नसक्ने देख्छन् तब केही भन्न सकिँदैन।
निष्कर्ष
यी परिदृश्यहरू ठ्याक्कै हुन्छन् भन्न सकिँदैन। तर यीमध्ये केही मिलेको समाधान पनि हुनसक्छ।
तर यो युद्ध जसरी सकिए पनि विश्व परिवर्तित भएको छ।
रुसको बाहिरी विश्वसँगको सम्बन्ध फरक हुनेछ। युरोपको सुरक्षा सोचमा भिन्नता देखिनेछ।


















