काठमाडौं, २१ फागुन । नेपाल सरकारसंग विधिपूर्वक संझौता गरेर नारायणहिटी संग्राहालय परिसरमा रेष्टुराँ खोल्ने पर्यटन व्यवसायी आनन्द बतासको संझौता एकै क्षणमा रद्द गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धक हटाउन भने छानबिन समितिको सहारा लिन परेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक विमानको सेवा सञ्चालन गर्ने निगमलाई रातारात कम्पनीमा लगेर निजी स्वार्थ समूहको जिम्मा लगाउन खोजेको आरोपमा निगमका कर्मचारीबाट बहिष्कृत भएर कार्यालयमा उपस्थित हुन नसक्नुभएका पौडेललाई अहिले मन्त्रालयमा तानिएको छ ।
पेशाले चार्टड एकाउण्टेण्ट पौडेल आफूलाई सरकारले नियुक्ति गर्दा दिइएको कार्यादेश पालना गर्न नसकेको र आफूलाई जिम्मेवारी सम्हाल्न दिइएको संस्थाका सम्पूर्ण कर्मचारीले तिरस्कार,बहिष्कार गर्दै कार्यालयमा छिर्न नदिंदा पनि पदमा भने टाँसिइरहनुभएको छ ।
उहाँको यो लिसो टसाईँले चार्टड एकाउण्टेण्ट पदकै बदनामी हुन पुगेको निगमका कर्मचारीहरुले बताएका छन् । काम गर्न नपाउने र अफिस छिर्न नसक्ने अवस्थामा पनि चार्टड एकाउण्टेण्ट जस्तो वित्तीय र व्यवस्थापकीय क्षेत्रको कमजोरी पत्ता लगाई समाधान खोज्ने पेशाका पौडेलल किन महाप्रबन्धकको पगरी लिएर बस्न रुचाउनुभएको छ ? यो रहस्यमय छ ।
यसैबीच उहाँलाई पदबाट हटाउने उद्देश्यले मन्त्रालयले उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा अन्य दुई उपसचिव पुरुषोत्तम खतिवडा(कानून) र राजेश उप्रेती रहेको तीन सदस्यीय छानबिन समिति बनाएको छ ।
सो समितिले महाप्रबन्धक पौडेलले सरकारले दिएको जिम्मेवारी पूरा गर्न नसकेको, निगमलाई नेतृत्व दिन नसकेको, कर्मचारीहरुको समुचित व्यवस्थापन
गरी मर्यादामा राख्न नसकेको, संस्थाको सर्वाड.गीण हितमा कर्मचारीलाई विश्वासमा लिन नसकेको, कार्यालयमा अनुपस्थित रहेको र कोरोना कालमा चार्टड उडानमा अनियमितता गरेको, निगमको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेकोले नेतृत्व क्षमतामा प्रश्न उठन गएको जस्ता कारणहरु पहिल्याएको बताएइएको छ ।
सो समितिले निगमको उच्च व्यवस्थापन र कर्मचारी युनियनसंग पनि उहाँको कार्यसम्पादन र कमीकमजोरीको बारेमा जानकारी मागेको थाहा भएको छ ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड यूनियन संघर्ष समितिले महाप्रबन्धक पौडेलसहित निगमको व्यवसायिक स्वार्थ बाझिने सञ्चालक समितिका दुई सदस्य फूर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेललाई बर्खास्त गर्न माग गरेको छ ।
संघर्ष समितिका सदस्यहरुले छानवीन समितिसमक्ष पनि आफूहरुले माघ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको माग पत्रसमेत नत्थी गरी महाप्रबन्धक पौडेललाई हटाउनु पर्ने कारणहरुको फेहरिस्त पेश गरेका छन् ।
कर्मचारीहरुले औल्याएको कारणहरुमा गत पौष १३ गतेदेखि कतारको दोहा एअरपोर्टमा भूमिस्थ भएको जहाजको इञ्जिन मर्मतसंभार र मर्मतसंभार अवधिभर इञ्जिन भाडामा लिनका लागि निर्णय गर्न बोलाइएको सञ्चालक समितिको बैठकमा उपस्थित नभई सो निर्णयलाई खलल पार्ने गरी वक्तव्य जारी गरेको, नेपाल सरकारले निगमलाई हाल सरकारी स्वामित्वमा नै सञ्चालन गर्ने निर्णय गरिसकेको अवस्थामा पनि निगमलाई कम्पनीकरण र निजीकरण गर्नुपर्दछ भनी वक्तव्यबाजी गरेको आरोप लगाएको छ ।
त्यस्तै निगमले आन्तरिक उडानमा नयाँ जहाज नल्याएसम्म आफूसंग भएका र सामान्य मर्मत संभारले चल्न सक्ने चिनिया जहाजहरु सञ्चालन गरी निगमको सेवा प्रभावकारी ढंगले सुचारु गर्ने सम्बन्धमा सञ्चालक समितिले छलफल गर्न खोज्दा यस बिषयमा छलफल हुनै सक्दैन भनी आन्तरिक सेवामा निजी क्षेत्रको ब्यापारबृद्धिलाई सघाउने ढंगले वक्तव्य जारी गरेको र निगमको सञ्चालक समितिमा छलफल गर्नुपर्ने अति गोप्य विषयहरु सञ्चालक समितिको बैठक हुनुपूर्व नै सार्वजनिक सञ्चारमाध्यममा वितरण गरेर पद तथा गोपनीयताको धज्जी उडाउदै गैरजिम्मेवार कार्य गरेको संगीन आरोप पनि कर्मचारीहरुले महाप्रबन्धक पौडेल र अरु दुई सञ्चालकमाथि लगाएका छन् ।
पौडेल समितिले प्रतिवेदन बुझाएपछि महाप्रबन्धक डिमप्रकाश र सञ्चालक समितिका अन्य दुई सदस्य पनि बर्खास्त हुने बताइन्छ ।


















