काठमाडौं, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ युट्युवमा रिलिज भएको एकै दिन ११ लाखभन्दा बढीले हेरेका छन् ।
माओवादी जनयुद्धपछि जनमुक्ति सेनामा रहेका युवायुवतीहरुले बिताउनु परेको दुःखमा आधारित उक्त गीतको भिडियोले माओवादीले आफैले सुरु गरेको वर्ग विभेदको मुक्ति अभियान विर्सेर शासक र शासितमा देखिएको अन्तरको सटिक ढंगले प्रस्तुत गरेको छ ।
जीवन गुजारा गर्न नसकेर घाइते योद्धाहरुले बच्चाकी आमाहरुलाई खाडीमा काममा पठाउनु परेको र स्वदेशमा नै बस्ने योद्धा महिलाहरुले लुकीछिपी आफ्नो अस्मिता बेचेर गुजरा गर्र्नुपरेको यथार्थ भिडियोमा देखााइएको छ ।
१६ मिनेट २५ सेकेन्ड लामो सो गीतको भिडिओमा “यो मायाको पीरले मलाई….” र “देश भन्नु के रै’ छ र…….?” भन्ने बोलका गीत मार्मिक छन् ।
यु ट्युवमा अपलोड हुना साथ सामाजिक सञ्जालमा ओवादी नेताहरुलाई खुल्याइदिएको प्रतिक्रिया आएको यो गीतको भिडिओ तुरुन्त युट्युबबाट हटाउन नेकपा माओवादी केन्द्रले दबाब दिएको छ ।
उसको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षा पञ्चा सिंहले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै चेतावनीयुक्त भाषामा भन्नुभएको छ, ‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठाबाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन्’, उनले लेखेकी छन्, ‘व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडिओ आपत्तिजनक र निन्दनीय छ।’
जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा स्मरण गराउँदै अध्यक्ष सिंहले जनयुद्धमा सहभागी महिलाले जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा संझाउनुभएको छ ।
‘तिनै दिदीबहिनीहरुमाथि अपमान हुनेगरी बनाइएको तपाईंको पिर नामक भिडिओ सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको जस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु’, क्रान्तिकारीकी अध्यक्षा सिंहले भन्नुभएको छ।



















