किएभ(युक्रेन), २८ फागुन (बीबीसी) । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ।
राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किएभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताउनुभएको छ।
किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहनुभएका युराले बीबीसी रेडियो फोरको टुडे कार्यक्रमसँग बोल्दै राजधानी किएभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताउनुभयो।
यदि रुसी फौज शहर भित्र छिर्यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी उहाँले दिनुभयो।
“यो दशौँ लाख मान्छे बस्ने शहर हो यदि उनीहरू भित्र छिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ। त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ।”
उहाँले दोस्रो विश्वयुद्धको त्यो क्षणबारे स्मरण गराउँदै हुनुहुन्थ्यो जसमा ११ लाख सोभियत सेना र ८ लाख जर्मन तथा रोमानियाको सेनाको मृत्यु भएको थियो।
त्यो १९४२-४३ मा भएको युद्धको त्यस्तो क्षण थियो जहाँबाट रुसतर्फ बढिरहेका नात्सीहरू रोकिनुपरेको थियो।
युराले भन्नुभयो, “म तपाईँलाई ग्यारेन्टी गर्न सक्छु कसैले पनि आत्मसमर्पण गर्ने छैन।”
उहाँ आफूले बालुवाका बोरा लगायतका सामग्री ल्याउन संयोजन गरिरहेको र आगामी युद्ध प्रभावकारी रूपमा गर्न विभिन्न सेनाका इकाईसँग कुराकानी गरिरहेको बताउनुभयो ।
युक्रेनी राजधानीमाथि रुसी अतिक्रमण गतिविधि चुलिइरहेकाले यो शहर चर्चाको शिखरमा छ।
गोलाबारीका कारण आगलागी
यसैबीच युक्रेनले फेरि पनि रुसीहरूले दक्षिणी बन्दरगाह शहर मारिओपोलबाट मानिसहरूको उद्धार रोकेको आरोप लगाएको छ।
मानिसहरू कठ्याङ्ग्रिँदो चिसोमा बिजुलीबिना थोरै खाना र पानीको सहारामा रहेका बताइएको छ।
रुसले मानिसहरूलाई सुरक्षित युद्ध क्षेत्रबाट बाहिरिने निकास मार्ग युक्रेनले अस्वीकार गरेको आरोप लगाएको छ।
रुसी फौजकिएभदेखि २५ किलोमिटर वरपर
यूकेको रक्षा मन्त्रालयले रुसी फौज किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ।
मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् ,”त्यो शहर घेराबन्दी गर्ने रुसी प्रयत्न हुन सक्छ।”
“अथवा आफ्नोतर्फ निकै क्षति बेहोरेको रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ।”
चेर्निहिब, खार्किभ, मारिओपोल र सुमी शहरमा पनि घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।
रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
किएभको बाहिरी भागमा रुसी ट्याङ्कको लस्करमाथि युक्रेनी आक्रमण देखाउने भिडिओ सार्वजनिक भएको छ।
ब्रोभरी क्षेत्रमा रुसी ट्याङ्ककको लस्करलाई युक्रेनी फौजले आक्रमण गरेको ड्रोन फूटेजमा देखिन्छ।


















