काठमाडौं, २८ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको कतारको दोहामा ग्राउन्डेड भएको सगरमाथा नामक न्यारो बडी बिमान ए–३२० जहाजले आजदेखि पुनः नियमित उडान सुरु गरेको छ ।
नाइन एन एकेडब्ल्यू कलसाईनको सगरमाथा विमान इन्जिनमा समस्या आएर गत पौष महिनाको दोस्रो सातादेखि कतारको दोहामा भूमिस्थ भएको सो जहाजमा भाडामा लिएको इञ्जिन प्रतिस्थापन गरेपछि उडान योग्य भएको हो ।
ग्राउन्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभएको छ ।
‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए मैले काम गरेर उनीहरुको मुखमा बुझो लगाइदिएको छु ।’ अध्यक्ष अधिकारीले भन्नुभएको छ ।
निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।
दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो ।
इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो ।
इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो ।
इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनौट भएको एमटीयू मेन्टिनेन्स सर्भिस जर्मनीले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ ।
बिग्रेको इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ ।
कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको जिकिर गर्नुभएको छ ।
निगमले हालै मात्र साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा नियमित उडानको अनुमति पाएको छ भने मुम्बई र बैंगलोर उडान पनि सुरु गर्ने भएको छ । यसको साथै दिल्ली रुटमा उडान संख्या बढाएको छ ।
निगमले आफ्ना जहाजहरुमा उडानलाई असर नगर्ने तर खतराजन्य सामाग्रीमा पर्ने सामान ढुवानीको अनुमति पाएको छ ।
आफ्नो मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा आफू अग्रसर रहेको उहाँले बताउनुभएको छ ।
निगममा कार्यरत कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा नतिजामुखी काम गर्न सकिएको उहाँको दावी छ ।
निगमको अन्तरराष्ट्रिय उडानमा एअरबसका दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् ।


















