Prakash Adhikari March 14, 2022

काठमाडौँ, ३० फागुन । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिवसीय नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नु भएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

उहाँले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

मन्त्री खड्काले राजकुमार फैजलसहितका २३ सदस्यीय साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुहुनेछ ।

भोलि नै नेपाल र साउदी अरेबियाबीच सामान्य सहयोग संझौता(जेनरल कोअपरेसन एग्रिमेन्ट, जीएसए) मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ ।

त्यहाँ ४ लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ ।

केही दिन पहिले मात्र साउदी अरेबियाले नेपालको राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई रियाद, दम्माम र जेद्दामा नियमित हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।

केही वर्षदेखि खाडी परिषद्का मुलुकबाट नेपालका उच्च हिमाल आरोहणमा पनि रुचि देखाइदै आएको पाइएको छ ।

 

 

Share Now

Leave a comment.