Prakash Adhikari March 14, 2022

 

काठमाडौं, ३० फागुन । जनयुद्धका नायक मानिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गायक प्रकाश सपुतले हालै सार्वजनिक गरेको नयाँ गीत ‘पीर’का बारेमा कोही पनि उत्तेजित हुन आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ, तर भिडियोका केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए त्यसप्रति क्षमा माग्नुभएको छ।

सुदूरपश्चिम भ्रमणमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा सो कुरा बताउनुभएको हो भने सर्जक सपुतले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गर्नुभएको छ ।

गायक सपूतले भन्नुभएको छ, “गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं । तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।”

उहाँले प्रश्न उठाउनेलाई हतोत्साह नगर्न अनुरोध गर्दै भन्नुभएको छ, “कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ न अल्झाउँ किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन गाउनुपर्ने कयौं, गित छन् १ र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।”


  Prakash Saput                                                                                                                  

नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु !

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।
‘पिर’बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै / पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र?


जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ ‘ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।


गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना / मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द / आन्दोलन / गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ।

गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु !

कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।धन्यवाद

प्रकाश सपुत ।
२०७८ फागुन ३०

May be an image of textMay be an image of text
6.2K
1.5K
333

उहाँले स्टाटसमा लेख्नुभएको छ, “विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएर्को छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । ”

प्रचण्डद्धारा वास्तविकता स्वीकार

पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताहरुले प्रकाश सपुतको नयाँ गीतमा देखाइएको दृश्यबारे धम्कीपूर्ण तवरले सामाजिक सञ्जालबाट हटाउन दबाब दिए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार यसबारे धेरै विरोध गर्नुपर्ने अवस्था नरहको बताउनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले जनयुद्ध बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताउनुभयो ।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन,’ प्रचण्डले भन्नुभयो, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्, त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ।’

उहाँले जनयुद्धबाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताउनुभयो।

‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ। शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी उत्तेजित हुनुपर्ने छैन। योबारे हामी गइसकेपछि सयौं वर्षसम्म पनि बहस रहन्छ।’

आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानीसमेत भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दुस्खपूर्ण जीवन विताइरहेको देखे तर दुःख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भनेर ढाडस दिनुभएको थियो ।”

नेपालमा माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा. बाबुराम भट्टराईले प्रकाश सपुतको पक्षमा आफ्नो मत राख्नुभएको छ। उहाँले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताउनुभएको छ।

“म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ”,उहाँले ट्वीटमा लेख्नुभएको छ।

उहाँले सर्जकलाई धम्काउनुको साटो क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु उचित हुने बताउनुभएको छ।

महिलाहरू आफ्नो सन्तान र श्रीमान्‌को उपचारका निम्ति देह बेच्न बाध्य भएको तथ्य आफूले अनुसन्धानको क्रममा प्रत्यक्ष बुझेको भट्टराईको दाबी छ।

“हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्। तीतो सत्य स्वीकारौँ “,उहाँले आग्रह गर्नुृभएको छ।

पक्षमा राजनीतिक नेतादेखि कलाकारसम्म

सङ्गीतकर्मी एवं आगामी स्थानीय निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका बालेन शाहले सपूतको पक्षमा लेख्नुभएको छ,”यदि कुनै पनि गीत वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन। त्यो व्यवस्था र पार्टी कमजोर हो।”

उहाँले पार्टीको कमजोरीलाई हटाउन सर्जकलाई धम्काएर नहुने बताउनुभएको छ।

दण्ड र प्रतिबन्धको माग

माओवादीकी सांसद यशोदा सुवेदीले आफूहरूलाई सार्वजनिक गीतको शब्द र लयसँग नभई भिडिओको केही अंशप्रति समस्या भएको बताउनुभएको छ।

“जनयुद्धबाट आएका र यसलाई बुझ्न चाहेकाहरूले आन्दोलनको आलोचनात्मक समर्थन र विरोध जनाउन सक्छन्। सुझाव दिन सक्छन्। तर आन्दोलनमा सहभागी महिलालाई देहव्यापारसँग जोडेर चरित्रमाथि प्रश्न उठाउन पाउँदैनन्”, उहाँले केही आक्रोशित हुँदै भन्नुभयो।

उहाँका अनुसार लडाकु पात्रको चित्रण आपत्तिजनक, खेदजनक र दण्डनीय छ।

उक्त सामग्रीले गाली बेइजत्तीविरुद्धको कानुन आकर्षित गर्ने उहाँको दाबी छ।

“आन्दोलनमा होमिएका महिला देहव्यापारमा छैनन्। जे देखाइयो त्यो असाध्यै आपत्तिजनक छ। प्रकाश सपूतले त्यसलाई सच्याउनुपर्छ, परिवर्तन गर्नुपर्छ। नत्र राज्यले त्यस गीतमाथि प्रतिबन्ध लगाउनु पर्छ”, उहााँले आफ्नो माग अघि सार्नुभयो।

बागमती प्रदेशसभा सदस्य कञ्चन खनालले भने भिडिओलाई “परिवर्तनको निम्ति निःस्वार्थ मृत्युसँग जुधेका समग्र योद्धाहरूको जीवनमाथि भद्दा मजाक”को सङ्ज्ञा दिनुभयो।

उहाँले भन्नुभयो, “गरिबीलाई देहव्यापारसँग जोडेर नारी अस्मितामाथि उक्त म्युजिक भिडिओले उठाएको प्रश्न अक्षम्य र दण्डनीय छ।”

निर्वाचनअघि षड्यन्त्र भएको दाबी

प्रकाश सपुतको गीतबारे हालसम्म नेकपा माओवादी केन्द्रको आधिकारिक प्रतिक्रिया आइसकेको छैन। तर केही नेताले भने यस गीत र निर्वाचनलाई जोडेर आफ्नो धारणा अघि सारेका छन्।

भिडि‌ओका कलाकारहरू केशु मगर र सुरक्षा पन्तसँग प्रकाश सपुत।

भिडि‌ओका कलाकारहरू केशु मगर र सुरक्षा पन्तसँग प्रकाश सपुत।

माओवादी सांसद रेखा शर्माले प्रकाशको गीतलाई निर्वाचनको ठिक अगाडि ल्याइएको नियोजित र षड्यन्त्रमूलक सामग्री भएको आरोप लगाउनुभयो।

यद्यपि उक्त भिडिओ निर्वाचनअघि मात्र नभई जुनसुकै बेला ल्याएको भए पनि ठिक नहुने उहाँको तर्क छ।

“सिङ्गो आन्दोलनमा सहभागी महिलाहरूको अपमान गरिएको छ। जुनसुकै पेसा, क्षेत्र, आन्दोलनको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ। तर त्यस भिडिओमार्फत् महिलाहरूको त्याग, बलिदान र उत्सर्गपछि प्राप्त अधिकारविरुद्ध धावा बोलिएको छ”, शर्माले भन्नुभयो, “उक्त गीति भिडिओ खेदजनक र बेठिक छ। हामी आम नेपाली महिलाविरुद्धको अपमान हो।”

अभिव्यक्ति स्वतन्त्रताको पाटो
सङ्गीतकार सङ्घका पूर्वअध्यक्ष एवं संरक्षक लक्ष्मण शेष कुनै पनि सिर्जना कतै राख्ने वा हटाउने अधिकार केवल सर्जकसँग हुने बताउनुभएको छ।

गीतको रचयिता, सङ्गीतकार र त्यसको लगानीकर्ताको अधिकारविरुद्ध कुनै पनि कदम उठाउन नमिल्ने उहाँको विचार छ।

उहाँ भन्नुहुन्छ,”गीत र भिडिओ सिर्जना हो। त्यसलाई हटाऊ भनेर कसैको सिर्जनात्मक सम्पत्तिमाथि लगाम लगाउन मिल्दैन।”

शेषले कलाकारले समाजमा भएका घटनालाई कलामार्फत् अभिव्यक्त गर्न पाउनुपर्ने बताउनुभयो।

सांसद यशोदा सुवेदी भने अभिव्यक्ति स्वतन्त्रताको नाममा सिङ्गो युद्धमा लागेकाहरूको चरित्रमा आक्रमण भएको बताउँनुहुन्छ।

“चरित्रमा प्रहार गर्ने स्वतन्त्रता कसैलाई हुँदैन। अभिव्यक्ति स्वतन्त्रता भनेको कानुनविपरीत होइन कानुनको अधीनमा रहेर हुनुपर्छ”, उहाँले भन्नुभयो।

सपुतले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पार्दै भन्नुभएको छ, “पिरबाट मैले युद्धकै जगर बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको  यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै र पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र?”

भिडिओमा के छ ?

https://youtu.be/Gep3jLq32OI

शुक्रवार सार्वजनिक ुपीरु बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ।

भिडिओको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ। त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।

भिडिओमा ‘देहव्यापार गर्न लागेकी महिला’को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर (केशरी)आफू पूर्वजनवादी कलाकार भएको बताउँनुहुन्छ ।

उहाँले आफूले जनवादी कलाकारका रूपमा जानेर वा नजानेर माओवादी आन्दोलनमा एक दशकसम्म योगदान गरेको बताउँनुभएको छ।

“हामीले बन्दुक उठाएनौँ, तर जनवादी कलाकारको रूपमा माइक उठायौँ। ज्यान जोखिममा राखेर सडकसडकमा नाच्दै हिँड्यौँ”,उहाँले केही आक्रोश मिसिएको बोलीमा भन्नुभयो,”तर बदलामा के पायौँरु केही पनि छैन।”

उहाँले गणतन्त्र आएपछि आफू ‘जनवादी कलाकार’बाट ‘कलाकार’ मात्र भएको र एक छाक खानकै लागि गर्नु परेको सङ्घर्ष निकै कठिन भएको बताउनुभयो।

प्रकाश सपुतले आफूसमक्ष भिडिओको कथावस्तु सुनाउँदा आफूलाई निकै गाह्रो भएको केशुले बीबीसीसँग बताउनुभएको छ।

“पहिले सांस्कृतिक समूहमा रहँदा लगाएको किसिमको लुगा लगाउनुपर्ने भन्दा मलाई निकै गाह्रो भयो। मलाई ती दिन सम्झिँदा पीडा हुन्छ, सम्झनु थिएन।”

तर भिडिओको कथावस्तुले थुप्रै महिला योद्धाहरूको वर्तमान परिस्थिति झल्काउने भएकाले उक्त भूमिका नकार्न नसकेको उहाँको कथन छ।

“भिडिओमा देखाइएको कथा कसैमाथिको लाञ्छना होइन। परिस्थितिको चित्रण हो। जसमा सम्बन्धित पार्टीको ध्यानाकर्षण हुन आवश्यक छ”,केशुले भिडिओमा प्रस्तुत हुनुको औचित्य प्रस्ट्याउनुभयो।

हाल भिडिओमा आफूले निर्वाह गरेको चरित्रको विरोध हुनुलाई उहाँ ‘आफ्ना योद्धाहरूको पीडादायी अवस्थाबारे माओवादीका ठूला नेता बेखबर छन्’ भन्ने सङ्केत मान्नुहुन्छ।

यूट्यूबबाट हटाउन चेतावनी

माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिएपछि उक्त भिडिओबारे सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थाल्यो।

सिंहले भिडिओमार्फत् “जनयुद्धमा सहभागी महिलाहरू देहव्यापारमा संलग्न भएको सन्देश दिनुू प्रति आपत्ति जनाउँदै लेख्नुभयो, “यस भिडिओ निन्दनीय छ।”

“जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा बुझाइरहनुपर्ने हो?”

उहाँले भिडिओ अपमानजनक भएको र सर्जक सपूतले माफी मागेर त्यसलाई यूट्यूबबाट हटाउनु पर्ने चेतावनी दिनुभएको थियो।

सपूतले भने ‘पीर’ एउटा बेजोड प्रश्न भएको लेख्नुभएको छ।

उहाँले एक फेसबुक पोस्टमा लेख्नुभयो, “पीर एउटा सिर्जना, गीत र भिडिओको साथसाथै एउटा प्रश्न पनि हो। बेजोड प्रश्न।”

उहाँले भिडिओमा झल्किने माओवादी लडाकुहरूको वर्तमान अवस्थालाई इङ्गित गर्दै लेख्नुभएको छ , “यस्तो गीतहरु गाउँदिनँ, बनाउँदिनँ भन्छु तर फेरि कसोकसो सिर्जनाहरू उतै मोडिन्छन्। थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो।”

देहव्यापार विम्बात्मक प्रयोग

गीतको भिडिओका सहनिर्देशक सुनिल विक ‘देहव्यापार’लाई पूर्वलडाकुहरूले भोगिरहेको अवस्थाको विम्बका रूपमा व्याख्या गर्नुहुन्छ।

बीबीसीसँग उहाँले भन्नुभएको छ,”एउटा कलात्मक विम्बमार्फत् समग्र अवस्था देखाउन खोजेका हौँ। तर त्यसलाई गलत बुझियो।”

उनले भिडिओ विवादमा तानिएसँगै निर्माण समूहलाई सामाजिक सञ्जालमार्फत् भिडिओ हटाउन दबावपूर्ण सन्देशहरू आइरहेको बताउनुभयो। तर व्यक्तिगत रूपमा भने सर्जक प्रकाश सपूत, आफूलगायत कसैलाई पनि फोन वा जानकारी नआएको उल्लेख गर्नुभयो।

कलाकार केशु मगर भिडिओको कथावस्तु काल्पनिक भए पनि पात्रहरू समाजबाटै ‘टपक्क टिपेर पर्दामा उतारेको’ बताउँनुहुन्छ।

“यो भिडिओ आरोप होइन, बन्दुक बिसाए पनि पीर बिसाउने ठाउँ नभेटेकाहरूको कथा हो। सोह्र मिनेट लामो कथाले वर्षौँ लामो क्रान्तिलाई हल्लाउन सक्दैन। यथार्थले उहाँहरूलाई कमजोर तुल्याउन वा तहसनहस पार्नु हुँदैन”, उहाँले भन्नुभयो ।

Share Now

Leave a comment.