काठमाडौं, १ चैत्र । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी वैशाख २ गतेबाट उडान सुरु गर्ने कुवेती वायुसेवाको प्रस्ताव अहिले छलफलकै चरणमा रहेको नेपाली उड्डयन अधिकारीहरूले बताएका छन्।
उनीहरूका भनाइमा त्यसबारे चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गर्नेछ।
सीधै भैरहवामा जहाज अवतरण गर्ने खालको हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल जारी रहेको बताइएका बेला सञ्चालन हुन लागेको उक्त विमानस्थलले विभिन्न चुनौती सामना गर्नुपर्ने हुनसक्ने कतिपय विज्ञको धारणा छ।
यद्यपि अधिकारीहरू हाललाई उक्त विमानस्थलमा पनि पहिलेकै हवाई मार्गबाट आएका विमानहरू अवतरण गर्न मिल्ने बताउँछन्।
उडानको प्रस्ताव
“जजीरा एयरवेजको बाङ्ग्लादेश र नेपाल हेर्ने क्षेत्रीय प्रबन्धकले हामीलाई पत्र लेख्दै वैशाख २ गतेदेखि साताको सातवटा चार्टरमा आधारित उडानहरू गर्न माग गरेका छन्”, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले भन्नुभयो ,”अब यसको प्रक्रिया के हुन्छ भने सुरुमा मन्त्रालयले अनुमति दिन्छ। त्यसपछि हामी अनुमति दिन्छौँ। यो प्रस्तावबारे अहिले छलफल भइरहेको छ, निर्णय भइसकेको छैन।”
उहाँका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सीधै उडान गर्नका लागि अनुमति मागेको हो।
अन्य कम्पनीहरूले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको उहाँले बताउनुभयो।
“अरू कम्पनीहरूले आफ्नो योजना बनाइरहेका होलान् तर हामी जजीराले अलि पहिले नै इच्छा देखाइसकेकाले हामी उत्साहित भएका छौँ।”
उक्त विमान कम्पनीले हाल काठमाडौं -कुवेत दैनिक उडान गर्दै आएको छ।
सबैलाई सूचना
कर्णका अनुसार फागुन पहिलो सातादेखि १० दिन गरिएको यान्त्रिक परीक्षण उडानको नतिजा हेरेर भैरहवा विमानस्थल उडान योग्य रहेको जानकारी सबै विमान सेवा सञ्चालकहरूले पाउने गरी पुर्याइ सकिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सञ्जालमार्फत यस्तो सूचना विश्वभरिका विमानस्थल र विमान सेवाहरूले पाइसकेको उहाँको भनाइ छ।
उक्त विमानस्थलबाट वैशाख १ गते नेपाल वायु सेवा निगमले व्यावसायिक प्रयोजनका लागि पहिलो परीक्षण उडान गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।
त्यस बेलासम्म अन्य कम्पनीले पनि नियमित उडानका लागि प्रस्ताव गर्ने अपेक्षा गरिएको कर्णले बताउनुभयो।
श्रमिक र पर्यटकलाई सहज
गौतम बुद्ध विमानस्थलबाट व्यावसायिक उडान सुरु हुन थालेपछि विशेषगरी मध्यपूर्वमा जाने नेपाली श्रमिक र लुम्बिनी घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने जानकारहरू बताउँछन्।
नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश तराईका जिल्लाका मानिसहरू रहने गरेको विवरण भएकाले पनि उक्त विमानस्थल सञ्चालनमा आएपछि कैयौँलाई सहज हुने उनीहरूको भनाइ छ।
बौद्ध सम्मेलन
लुम्बिनी नजिकै भएकाले भैरहवा विमानस्थल वौद्ध धर्मावलम्बीहरूको रोजाइमा पर्नसक्ने कतिपयको भनाइ छ
दुई वर्षअघि सरकारले प्रकाशित गरेको ूनेपाल श्रम आप्रवासन प्रतिवेदनू अनुसार सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जाने १० जिल्लामध्ये ९ वटा तराईका रहेका छन्।
त्यस्ता १० जिल्लाबाट कुल वैदेशिक रोजगारीमा जानेमध्ये ४० प्रतिशत जाने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार सबैभन्दा धेरै श्रमिकहरू विदेश जाने जिल्लाहरूमा क्रमशस् धनुषा, सिराहा झापा, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, रुपन्देही, तनहुँ र दाङ पर्छन्।
चुनौती र अवसर
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्ध तथा एकजना उड्डयन क्षेत्रका जानकार त्रिरत्न मानन्धर भैरहवा विमानस्थल सञ्चालनमा आएपछि पनि कतिपय चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताउँनुहुन्छ।
ूयो विमानस्थलको मुख्य चुनौती भनेकै त्यसको बजारीकरण हो। हामी चुपचाप बसेर हुँदैन ू उहाँले भन्नुभयो,ूयदि हामीसँग त्यसका लागि विज्ञता छैन भने विदेशीलाई बोलाएर भए पनि बजारीकरण गर्नुपर्छ।ू
हवाई मार्गको पनि समस्या भएकाले त्यसलाई पहल गरेर सहजीकरण गर्नुपर्ने सुझाव उहाँको छ।
पोखरा विमानस्थल
पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको पनि अधिकंश निर्माण कार्य सकिएको बताइएको छ
तर प्राधिकरणका प्रवक्ता कर्ण चाहिँ भारतले नयाँ हवाई मार्ग नदिए पनि सिमरा माथिको पुरानै हवाई मार्गबाट त्यहाँ जहाज अवतरण गर्न सकिने बताउँनुहुन्छ।
उहाँले भन्नुभयो, “त्यसले अवतरणका समयमा करिब ६ मिनेट मात्रै ढिलो हुने हो अनि फेरि उडानका बेला पश्चिमतिरै जाने भएकाले त्यो कभर भइहाल्छ नि !”
मानन्धर चाहिँ उक्त विमानस्थलको प्रचार प्रसारमा ध्यान दिन सरकारलाई सुझाव दिनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “हामीले बौद्ध पर्यटक मात्र ल्याउन सके पनि त्यो निकै ठूलो हुनेछ।”
काठमाडौंको विकल्प
भैरहवा विमानस्थल सञ्चालनमा आएपछि त्यो काठमाण्डूमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुने ठानिएको छ।
त्यस्तै अर्को विकल्पका रूपमा पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ।
प्राधिकरणका प्रवक्ता कर्णका अनुसार पोखराको निर्माण पनि ९२ प्रतिशत सम्पन्न भइसकेको छ।
अब चाँडै उक्त विमानस्थलको निर्माण सम्पन्न हुने र यान्त्रिक परीक्षण गरिने छ।(बीबीसी)


















