Prakash Adhikari March 12, 2018

लण्डन(संयुक्त अधिराज्य), २८ फागुन । नेप्लिज ब्रिटिश कम्युनिटी(एनबिसी)को आयोजना सांझ लण्डनको ग्रिनफोर्ड टाउन हलमा शनिवार ‘कविता कन्सर्ट’ सम्पन्न भएको छ।

युवा कवि नवराज पराजुलीको प्रस्तुतिमा लण्डनमा ‘कविता कन्सर्ट’ सम्पन्न भएको हो ।

एनआरएन यूकेको भाषा, साहित्य विभागसंगको सहकार्यमा एनबिसी यूकेले द्वन्द्वकालमा बाबुआमा गुमाएर अनाथ बनेका बालबालिकाको संरक्षण गरिरहेको सर्लाहीको एक बालगृहको सहयोगार्थ सो च्यारिटी कन्सर्ट आयोजना गरिएको थियो ।

च्यारिटीबाट करिब १६ लाख रुपिया बचत भएको प्रारम्भिक अनुमान छ ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले प्रश्न गर्दै भने, ‘नवराज पराजुलीका कवितामा जादु छ कि जादुमा नवराज पराजुलीको कविता छ ? ’

राजदूत डा सुवेदीको मन्तब्य लगत्तै स्टेजमा पुगेका कवि पराजुलीले त्यसपछिको पूरा डेढ घण्टा कविता सुनाए । विदेशमा बसेका तर नेपाली भाषा र साहित्यका अनुरागीका बचिमा कवि पराजुलीले आफ्ना आधा दर्जन कविताहरु वाचन गरेर सुनाए ।

कार्यक्रममा बेलायतमै रहेका ६ जना नेपाली स्रष्टा मन्जु खरेल , नृपेश उप्रेती , फडिन्द्र भट्टराई , रमेश कायस्थ, जगत नवोदित र नारायण गाउंलेले आ आफ्ना रचना सुनाएका थिए ।

आफ्नो लोकप्रिय कविता ‘सगरमाथाको गहिराई’ बाट वाचन सुरु गरेका पराजुलीले दोस्रो प्रस्तुतिमा नयां कविता ‘च्याउ’ सुनाए । तेस्रो पालोमा उनले ‘रुख’ कविता सुनाए । त्यसपछि उनले आफ्नो लोकप्रिय नम्बरबाट ‘खोया’ कविता सुनाएका थिए ।

’ ‘बुद्धको टाउकाको मोल’ शीर्षकको कविता सुनाउदा उनले अलिकति भूमिका पनि बाँधे ।

द्धन्द्धकालमा आतंककारीको आरोपमा बेपत्ता पारिएका मुर्तिकारकी छोरीमार्फत द्वन्दमा बेपत्ता हुनेहरुको परिवारको कथा यसमा निहित आफ्नो सर्वाधिक चर्चित कविता ‘हेप्पी बर्थडे’ वाचन गरे च्यारिटी कविता कन्सर्टको बिट मारेका थिए ।

कन्सर्टमा स्टेजको सजावट र लाइटिंगको संयोजन कलाकार तथा निर्देशक सनमकुमार वैरागले गरेका थिए ।

कार्यक्रमका संयोजक रामशरण सिंखडाले टिकट बिक्री, विभिन्न स्पोन्सर तथा सहयोगदाताहरुबाट सहयोग रकम संकलन गरिएको बताएका छन् ।

आयोजक एनबिसी यूकेले कार्यक्रमको खर्च कटाएर बचत हुने पूरै रकम सर्लाहीको चेतना सन्देश नेपाललाई पठाउने यसअघि नै बताइसकेको छ ।

अहिले ३ दर्जन अनाथ बालबालिका संरक्षण गरिरहेको बालगृहका बालिकाहरुलाई छुट्टै आवास कक्ष बनाउने अभियानमा एनबिसी यूकेले सहयोग गर्न लागेको हो । कन्सर्टको मध्यभागमा सोहि बाल ग्रृृृहको बारेमा तयार पारिएको ९ मिनेट लामो भिडियो सामग्री देखाइएको थियो ।

Share Now

Leave a comment.