Prakash Adhikari March 12, 2018

 

बिर्तामोड(झापा)२८ फागुन । नेपाल आर्मीको त्रिभुवन स्पोर्टस क्लब र आयोजक झापा ११ बीच आज रमपम तेस्रो झापा गोल्डकपको फाइनल खेल हुने भएको छ । निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यसबर्षको उपाधि चुम्ने दावी गरेका छन् ।

आइतबार फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् ।

उनले आर्मी सशक्त टीम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए । प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पुर्ती गर्न विश्वास श्रेष्ठलाई अनुबन्ध गरिएकोले खेल जित्ने दावी गरेका छन् ।

झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।

त्यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागि खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भएपनिे यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावी समेत थापाले गरेका छन् ।

आर्मीले यसबर्ष देशका बिभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि जितेको छ ।

आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए ।
उनले निर्धारित समयमा हार जितको निर्णय हुन नसकेमा अतिरिक्त समय थपिनुपर्ने बताए ।

हालसम्म निर्धारित ९० मिनेटको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलीस र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बिर्ताबजारस्थित दोमलाल राजवंशी खेलमैदानमा आज(सोमबार) हुने फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने धेरैको अनुमान छ ।

Share Now

Leave a comment.